प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्‍या सिंहलाई डीन बनाएको विरोधमा नेकपाकै विद्यार्थीले लगाए आइ‌ओएममा ताला

नौलो समाचार संवाददाता
२०७७ अषाढ ४, बिहिबार मा प्रकाशित ४५४ पटक पढिएको

प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्‍या सिंहलाई डीन बनाएको विरोधमा नेकपाकै विद्यार्थीले लगाए आइ‌ओएममा ताला

असार ४, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डिनमा प्रधानमन्त्रीको निजी चिकित्सक डा. दिव्यासिंह शाहलाई नियुक्ति भएपछि नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले डा. शाहको नियुक्तिको विरोध गर्दै तालाबन्दी गरेको छ।

डा. शाहलाई डिन बनाउने त्रिभुवन विश्वविद्यालयको निर्णय तत्काल सच्याउनुपर्ने माग गर्दै अनेरास्‍ववियूको महाराजगञ्‍ज चिकित्सा क्याम्पस कमिटीले आईओएममा तालाबन्दी गरेको हो।

अनेरास्ववियूका क्याम्पस इकाई अध्यक्ष विनय पंगेनीद्वारा जारी गरिएको विज्ञप्तिमा वरिष्ठता र कार्यकुशलताको मापदण्ड मिचेर राजनीतिक पहुँचको आधारमा डा.सिंहलाई नियुक्ति गरिएकाले तालाबन्दी गरिएको बताइएको छ।

यसका साथै अनेरास्ववियूले यो कदमप्रति प्राध्यापक तथा कर्मचारीका संगठनहरुको समर्थन रहेका भन्‍दै तत्काल वरिष्ठताको आधारमा उक्त निर्णय फिर्ता नहुँदासम्म तालाबन्दी जारी रहने जनाएको छ।

यता, त्रिवि शिक्षण अस्पतालको प्रगतीशील कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठनले समेत विज्ञप्ती जारी गर्दै डा. शाहलाई गरिएको डीन नियुक्तिको विरोध गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘ वरिष्ठताका आधारमा डीनको नियुक्तिको लागि यसअघि पनि अनसन, आन्दोलन भएकाले यस संस्थालाई कर्मथलो बनाइ अहोरात्र खटिने प्राध्यापकहरुलाई निराश बनाएको छ भने नीजी संस्थाको पृष्ठपोषण गर्ने व्‍यक्ति विशेषलाई चिकित्सा शास्त्र अध्‍ययन संस्थानको नेतृत्व दिने गरी औपचारिकता मात्र पूरा गर्न बनाएको सहज कमिटी आफैमा लाचार र विवेकहीन बुद्धिजीवीहरु मेडिकल माफियाको चंगुलमा जकडिएको देखिन्छ।’

यसका साथै संगठनहरुले डीन नियुक्तिको निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।


प्रतिक्रिया दिनुहोस