नेपालीसँग विवाह गरेको ७ वर्षपछि मात्रै विदेशी महिलालाई नागरिकता दिने नेकपाको निर्णय

नौलो समाचार संवाददाता
२०७७ अषाढ ६, शनिबार मा प्रकाशित ३७७ पटक पढिएको

नेपालीसँग विवाह गरेको ७ वर्षपछि मात्रै विदेशी महिलालाई नागरिकता दिने नेकपाको निर्णय

असार ६, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विदेशबाट विवाह गरेर आउने महिलाले स्थायी बसोबास गरेको ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता पाउने निर्णय गरेको छ ।

अाज प्रधानमन्त्री निवास बालुवाटारमा बसको नेकपा सचिवालय बैठकले विवाह गरेको ७ वर्ष नेपालमा स्थायी बसोबास भएको महिलालाई मात्रै अंगीकृत नागरिकता दिने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली पुरुषसँग विवाह गरेर आउने महिला ७ वर्ष नेपालमा बसेको र विदेशको नागरिकता वा राष्ट्रियता झल्काउने कागजात परित्यागको प्रकृया सुरु भएपछि मात्रै अंगीकृत नागरिकता दिने निर्णय पार्टीले गरेको बताउनुभयो ।

नागरिकता प्राप्त नगर्दासम्म सामाजिक, सांस्कृतिक र आर्थिक सम्पूर्ण अधिकारसहितको आवासीय परिचयपत्र विवाह भएको दिनदेखि नै दिइने उहाँले बताउनुभयो ।

नागरिकता संशोधन विधेयक लामो समयदेखि संसदमा विचाराधीन रहेको छ । पटक पटक यसका प्रावधानहरुमा छलफल भए पनि सहमति जुट्न सकेको छैन् । नेपाली कांग्रेस र मधेशवादी दलहरुले अहिलेकै प्रावधान अनुसार विवाह गरेलगत्तै अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने प्रावधान राख्नुपर्ने बताउँदै आएका छन् ।

विधेयक अहिले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको छ । समितिमा अहिले अंगीकृत नागरिकताको विषयमा नै छलफल भइरहेको छ ।

समितिको छलफलमा सहमति जुट्न नसकेपछि गृहमन्त्री रामबहादुर थापाले राजनीतिक सहमतिका लागि भन्दै एक हप्ताको समय माग्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस