सलहले सोत्तर पारेपछी मकैबारी रित्तो

नौलो समाचार संवाददाता
२०७७ अषाढ १७, बुधबार मा प्रकाशित २४६१ पटक पढिएको
सलहले सोत्तर पारेपछी मकैबारी रित्तो

असार १७, प्यूठान । प्यूठानको सरुमारानी गाउँपालिका–३ दुमहीका चुम बहादुर राना बर्षेनी २९ रोपनि वारि र ८ रोपनी खेतमा मकै लगाउंँछन् । उनले यसवर्ष पनि मकै लगाए । यहि फलेको मकैले बर्षभरी खान पुग्थ्यो। हलक्क बढेको मकै भर्खर पसाउदै थिए । उनलाई यश बर्ष पनि मकै राम्रै फल्छ भन्ने आश थियो । किन कि मकै घोगा हाल्ने तयारीमा थिए। तर, सलहले बोटमै मकै सोतर पारेपछि उनको आश निराशामा परिणत भएको छ।

मकै हुर्कदै गर्दा अमेरिकी फौजी किराले आक्रमण गर्‍यो । उनले कृषि प्राविधिकको सल्लाह अनुसार विषादी छरेपछि फौजी किरालाई केहि नियन्त्रणमा ल्याउन सफल भए ।मंगलबार, दिउसो एकाएक ठूलो झुन्डमा आएका सलहबाट भने उनले मकै जोगाउन सकेन्न। हेर्दा हेर्दै सलहले मकै सकेपछी उनी चिन्तामा छन।

‘पसाउन लागेको मकैको पात र डाक्ला सक्योु पातमा लपक्कै सलह बसेर बोट नै ढलाएको छ, अब पलाउने आश पनि छैन’ रानाले भने ‘एक आधा घण्टामै बारीभरीको मकै सलहले खायोु बर्बाद भयो।’उनले भने।

राना मात्र हैन साबिकको हंसपुर गाबिसका मकै खेती गर्ने अधिकांश किसानको अवस्था उस्तै छ । किराले गुबोसमेत खाएर सखाप पारेका मकैका बोटका डाँठमात्र ठडिएका देखिन्छन् । किसासरुमारानी ३ कोटाचौरकी चमेली पल्लीले पनि बारीमा लगाएको मकैको पात सलह किराले खाएर आधासरो ठुटो बनाएको गुनासो गरिन । ‘६ महिना खान पुग्ने मकै सलहले छिनभरमै स्वाह पार्यो,’ पल्लीले भनिन,’अब के खाने ? ‘अब मकै बाली भित्र्याइने आस छैन ।’

‘ मङ्गलवार सरुमारानी –३ हंसपुरको दुमही,कोटाचौर, कोटघर टोल लगायतका झण्डै ५० बढि किसानले लगाएको मकैमा सलहले क्षति पुर्‍याएको स्थानीयले बताए । आगो बाल्ने, थाल ठटाउने जस्ता बिधी अपनाए पनि सलह नभागेको किसान बताउछन।

क्षतिको मुल्याकंन गरि किसानहरुलाई राहतका कार्यक्रम ल्याउन किसानले सरकारसँग आग्रह गरेका छन् ।

तराई हुँदै आईतबार सरुमारानी क्षेत्रमा पहिलोपटक देखिएको यो सलह अहिले जिल्ला भर फैलिएर मकैबाली नष्ट गरेको छ ।

ठूलो झुण्ड बनाएर गाउँ पसेको सलहले वडाका विभिन्न गाउँमा लगाएको खाद्यन्न बालीमा नोक्सानी पुर्याएको वडाअध्यक्ष भीमबहादुर मर्साङ्गीले बताए । उनले सलह प्रभावीत कृषकहरुलाई भेटेका छन। वडाअध्यक्ष मर्साङ्गीले सलहबाट कृषकहरुले ठूलो नोक्सानी ब्यहोर्नु परेको भन्दै राहतका लागी आवश्यक पहलकदमी लिइने बताए ।

सरुमारानी गाउपालिकाकी कृषी शाखा प्रमुख चम्पा पाण्डेले सलहले अन्न बालीमा क्षति पुर्‍याइरहेको बताईन ।’ किसानहरूले सलह भगाउन रित्ता भाँडा ठटाउने, आगो बालेर धुवाँ उडाउने लगायतका काम गर्न उनले सुझाईन। सलहले पुर्याएको क्षतीको एकिन तथ्याकं संकलन भईरहेको उनले जानकारी दिइन।

प्रतिक्रिया दिनुहोस