उद्योगीसँग मौज्दात सकिएको हल्लाले बजारमा चिनी महँगियो, साल्ट ट्रेडिङ र खाद्यले ३० हजार टन चिनी किन्ने

नौलो समाचार संवाददाता
२०७७ भाद्र २, मंगलबार मा प्रकाशित १०८२ पटक पढिएको
उद्योगीसँग मौज्दात सकिएको हल्लाले बजारमा चिनी महँगियो, साल्ट ट्रेडिङ र खाद्यले ३० हजार टन चिनी किन्ने

भदौ २, काठमाडौं। नेपाली उद्योगीसँग चिनी सकिएपछि आयातित चिनीको मूल्य वृद्धि हुन थालेको छ। केही दिनअघिसम्म किलोको ८० रुपैयाँमा पाइने चिनी अहिले ८५ देखि ९० रुपैयाँसम्म बिक्री भइरहेको छ।

१५ दिनदेखि नेपाली उद्योगीहरुका साथै चिनी बिक्री गर्दै आएका सरकारी निकायसँग समेत मौज्दात सकिएपछि बजारमा चिनी अभाव हुने हल्ला चल्दा यसको मूल्य बढेको हो ।

सरकारी स्वामित्वको कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले बजारमा अभावले मूल्यमा अस्वाभाविक वृद्धि हुन नदिनका लागि ‘बफर स्टक’ का लागि ठूलो परिमाणमा चिनी आयात गरेर राख्ने गरेको छ । यसरी किनेको चिनी खुद्रा ग्राहकलाई समेत बिक्री गर्दै आएको साल्ट ट्रेडिङसँग नै अहिले मौज्दात घट्दै जादा पनि बजारमा मूल्य बढेको छ।

साल्ट ट्रेडिङसँग अब सात सयदेखि बढीमा आठ सय टन मात्रै चिनी मौज्दात रहेको यसका सूचना अधिकारी कुमार राजभण्डारीले जानकारी दिए । मौज्दात न्यून भएकाले नै यतिबेला कम्पनीले एउटा ग्राहकलाई पाँच केजीभन्दा बढी चिनी नदिएको उनले बताए ।

चिनी खरिद-बिक्रीको अनुमति पाएका दुई सरकारी निकाय साल्ट ट्रेडिङ र खाद्य व्यवस्था व्यापार तथा कम्पनी लिमिटेडलाई सरकारले समयमै खरिद अनुमति नदिँदा चिनी ल्याउनमा भएको ढिलाइले बजारमा अभावको हल्लासँगै मूल्यवृद्धिको अवस्था सिर्जना भएको हो ।

बजारमा अभाव बढेपछि मात्र मन्त्रीपरिषदले यी दुई निकायलाई ३० हजार मेट्रिक टन चिनी खरिदको अनुमति दिएको छ । मन्त्रीपरिषदबाट अनुमति पाएसँगै भर्खरै मात्र साल्ट ट्रेडिङ र खाद्य कम्पनीले चिनी खरिदको प्रक्रिया अघि बढाएका छन्।


प्रतिक्रिया दिनुहोस