लोकप्रिय गायक शिव परियारको ‘लौ न बोलिदेऊ’ सार्वजनिक

नौलो समाचार संवाददाता
२०७७ भाद्र ४, बिहिबार मा प्रकाशित १२४९ पटक पढिएको
लोकप्रिय गायक शिव परियारको ‘लौ न बोलिदेऊ’ सार्वजनिक

काठमाडौँ । लोकप्रिय गायक शिव परियारको स्वर रहेको गीत “लौ न बोलिदेऊ” को भिडियो सार्वजनिक भएको छ ।

कवि तथा संचारकर्मी सुनिता खनालको शब्द रहेको उक्त गीतको म्युजिक भिडियो बिहीबार सार्वजनिक भएको हो। वरिष्ठ संगीतकार राजु सिंहको संगीत, रिदम कँडेलको संगीत संयोजन र एचबिएन किस्मतको मिक्सिङ रहेको उक्त गीतमा लोकप्रिय गायक शिव परियारले स्वर दिनु भएको छ । उक्त गीत स्टुडियो ‘१डिबी एचडी’ मा तयार गरिएको हो ।

संगीतकार सिंहले आफ्नो तीन दशकको सांगीतिक यात्राको क्रममा यो गीत नितान्त अहिलेको पुस्ताका लागि कम्पोज गरिएको बताउँदै नयाँ पुस्तासँग साक्षात्कार गर्ने उद्देश्यले यस गीतमा फरक कम्पोजिसन गरिरहँदा आफूलाई २५ वर्ष पछाडि फर्केको अनुभव भएको सुनाए ।

गोङग्बाको निर्देशन रहेको उक्त गीतको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् । भिडियोमा भारतीय रियालिटी सो डान्स इन्डिया डान्स २०१७ का सेमी फाइनलिस्ट तथा डान्स प्लस २०१८ का फ्रस्ट रनरअप सुजन मार्पा तामाङको साथमा मानसी तामाङको अभिनय रहेको छ ।

‘लौ न बोलिदेऊ’ गीत गायक परियार आफैँले निर्माण गरेका हुन् । गायक शिव परियार स्वयमको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीत उहाको एघारौं सांगीतिक संग्रह ‘शिवालय’ मा संग्रहित रहने छ ।


प्रतिक्रिया दिनुहोस