भदौं ५, काठमाडौं। सरकारले कोरोना भाइरस (कोभिड—१९) नियन्त्रणका लागि साउन मसान्तसम्ममा १३ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी रकम खर्च भएको जानकारी दिएको छ ।
शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ/सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडा १३ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी खर्च भएको विवरण सार्वजनिक गरेका हुन्।
डा. खतिवडाका अनुसार गत चैतबाट साउन मसान्तसम्म कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले १३ अर्ब ३६ करोड ७० लाख रुपैयाँ बराबरको खर्च भएको हो ।
कोरोना नियन्त्रण तथा रोकथामका लागि संघीय सञ्चित कोषबाट ५ अर्ब ८५ करोड रुपैयाँ खर्च भएको भएको हो ।
जसअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट २ अर्ब १७ करोड, रक्षा मन्त्रालयबाट २ अर्ब ३७ करोड खर्च भएको छ ।
यसैगरी गृह मन्त्रालयबाट २० करोड ८३ लाख, परराष्ट्र मन्त्रालयबाट ६ लाख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ४ करोड ४९ लाख र सहरी विकास मन्त्रालयबाट १ करोड २९ लाख रकम खर्च भएको छ ।
कोभिड कोषबाट यस्तै १ अर्ब ३ करोड विभिन्न निकायलाई दिइएको पनि उहाँले बताउनुभयो ।
यस्तै प्रदेशहरुले झण्डै डेढ अर्ब खर्च गरेका छन् । मन्त्री खतिवडाका अनुसार प्रदेशहरुबाट १ अर्ब ४९ करोड ७० लाख रुपैयाँ खर्च भएको हो ।
उहाँका अनुसार प्रदेश नम्बर १ मा २० करोड ७१ लाख, प्रदेश नम्बर २ मा १७ करोड २ लाख र बागमती १३ करोड ६७ लाख रुपैयाँ खर्च भएको छ ।
यस्तै गण्डकी प्रदेशमा १४ करोड ५४ लाख, प्रदेश नम्बर ५ मा १० करोड ५९ लाख, कर्णाली प्रदेशमा २६ करोड २६ लाख र सुदूरपश्चिम प्रदेशमा ४२ करोड ४८ लाख रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो ।
यस्तै स्थानीय तहबाट ६ अर्ब २ करोड रुपैयाँ खर्च भएको छ । सबै रकम औषधि, स्वास्थ्य सामग्री खरिद, जनशक्ति व्यवस्थापन र क्वारेन्टिन व्यस्थापनमा खर्च भएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस