पर्वतकाे जलजला गाउँपालिकामा ‘एक घर, एक पीसीआर जाँच’ अभियान शुरू

नौलो समाचार संवाददाता
२०७७ कार्तिक ११, मंगलबार मा प्रकाशित ७३८ पटक पढिएको
पर्वतकाे जलजला गाउँपालिकामा ‘एक घर, एक पीसीआर जाँच’ अभियान शुरू

कात्तिक ११, पर्वत। पर्वतको जलजला गाउँपालिकामा कोरोना सङ्क्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा आजदेखि कोरोना परीक्षण गर्न थालिएको छ ।

सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुमा कोरोना पुष्टि हुन थालेपछि गाउँपालिकाले ‘एक घर–एक पिसिआर जाँच’ अभियान शुरू गरेको हो । गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले पालिकाभित्रका सबैलाई यो सुविधा लिन आग्रह गर्नुभयो।

उहाँले कोरोनालाई हेलचेक्य्राइँ गर्न नहुने बताउँदै आफूले संक्रमित हुँदा भोगेको समस्याबारे समुदायमा जानकारी गराई अभियानलाई नागरिकको घरदैलामै पुग्ने गरी सञ्चालन गरिने बताउनुभयो । बिहान १० बजे मिलनचोकबाट स्वास्थ्यकर्मीको टोलीले समुदायस्तरमा स्वाब संकलन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।

हरेक घरमा एक जनाको स्बाब संकलन गरिए पनि कोरोना संक्रमितको परिवारका भने सबैको संकलन गरिने भएको छ । यसअघि गाउँपालिकाका झण्डै पाँच सय जनाको पिसिआर परीक्षण गरिसकिएको छ । यसैबीच तत्काल पाँच शय्याको कोरोना अस्पताल बनाएर आवश्यकतानुसार विस्तार र होम आइसोलेशनलाई जनस्वास्थ्यको मापदण्डको कार्यान्वयन हुने गरी प्रयोग गरिने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस