क्यान्सरका बिरामीलाई वाग्मती प्रदेश सरकारले ५०/५० हजार दिने

नौलो समाचार संवाददाता
२०७७ माघ ३०, शुक्रबार मा प्रकाशित २६१ पटक पढिएको

क्यान्सरका बिरामीलाई वाग्मती प्रदेश सरकारले ५०/५० हजार दिने

माघ ३०, चितवन। वाग्मती प्रदेश सरकारले क्यान्सरका बिरामीलाई उपचारार्थ ५०/५० हजार रूपैया सहयोग गर्ने भएको छ।

यसअघि क्यान्सरका बिरामीलाई संघीय सरकारले एक लाख उपचार सहयोग गर्दै आएको थियो। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार फागनु १ गतेदेखि लागू हुनेगरी छुट सुविधा दिन वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयसँग सम्झौता भएको छ।

क्यान्सरको उपचारमा लाग्ने खर्चमा सरकारले दिँदै आएको एक लाखमा प्रदेश सरकारले थप ५० हजार उपलब्ध गराउने भएको उनले बताए।

संघीय सरकारबाट प्राप्त हुने सहयोग रकम सकिएपछि मात्रै प्रदेश सरकारले दिने रकम खर्च गरिने छ। यो ५० हजारको सहयोग रकम वाग्मती प्रदेशभित्रका स्थायी बासिन्दाले मात्र पाउने उनले बताए। प्रदेशले यो सुविधाका लागि चालू आर्थिक वर्ष सात करोड रूपैयाँ विनियोजन गरेको छ।

अस्पतालमा उपचार गराउन आउने क्यान्सरका बिरामीमध्ये ४० प्रतिशत हाराहारी वाग्मती प्रदेशका हुने गरेका छन्। थप सहयोग पाएसँगै बिरामी र तिनका परिवारलाई राहत पुग्ने उनको भनाइ छ।

क्यान्सर रोगको उपचार निकै खर्चिलो हुन्छ। निजीमा उपचार गर्न खर्चका कारण जो कोहीलाई कठिन हुने गर्दछ। सरकारीमा समेत उपचारका लागि आवश्यक पर्ने सेवा र औषधिलगायत महंगो पर्ने भएकाले उपचार खर्चिलो हुने गरेको छ।


प्रतिक्रिया दिनुहोस