फागुन ५, काठमाडौँ । प्रहरीले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्या आरोपी सार्वजनिक गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रहरीले भट्टका बलात्कार तथा हत्या आरोपीबारे विस्तृत जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले आरोपित किशोर दोगडाकेदार गाउँपालिका–७ का भट्ट पढ्ने सनातन धर्म माध्यमिक विद्यालयकै कक्षा ११ अध्ययनरत रहेको बताउनुभयो । आरोपीले भागरथीको हत्या गर्न अगाडिदेखि नै लवलेक जंगलमा कुरेर बसेको पनि सुवेदीले जानकारी दिनुभयो ।
आरोपी बजारबाट साथीहरूसँग छुटेर घर जाने भन्दै फर्किएर घटनास्थल पुगेर भागरथीलाई मार्ने उदेश्यले कुरेर बसेको देखिएको प्रहरीले जनाएको छ । भट्टलाई सडकभन्दा तल धकेलेर लडेपछि जबरजस्ती घाँटी थिचेर मारेको देखिएको पनि प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
आरोपितले बलात्कार भने नगरेको बयान दिए पनि पोष्टमार्टम रिपोर्टमा बलात्कार भएको देखिएको थियो । आरोपी र भट्टको भजाइनल स्वाबको डीएनए जाँचको अनुसन्धान भइरहेको प्रहरी नायब महानिरीक्षक सुवेदीले बताउनुभयो । आरोपीले रिसिइबीका कारण हत्या गरेको प्रहरीमा बयान दिएका छन् ।
अनुसन्धानका लागि पाँच दिनको म्याद
बैतडीको दोगडाकेदार गाउँपालिका-७ की भागरथी भट्टको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका किशोरलाई अनुसन्धानका लागि अदालतले पाँच दिनको म्याद दिएको छ।
सुदुर पश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइएको जानकारी दिए।
प्रहरीले ती किशोरलाई मंगलबार साँझ पक्राउ गरेको थियो।
प्रतिक्रिया दिनुहोस