दोस्रो चरणको खोप अभियान: काभ्रेमा आज १७ सय ४२ जनाले लगाए खोप

आजै थपिए ९ जना नयाँ संक्रमित 
नौलो समाचार संवाददाता
२०७७ फागुन २३, आईतबार मा प्रकाशित ६७३ पटक पढिएको
दोस्रो चरणको खोप अभियान: काभ्रेमा आज १७ सय ४२ जनाले लगाए खोप

फागुन २३, काभ्रे । दोस्रो चरणको खोप अभियान अन्तर्गत ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई आजबाट देशभर कोरोना भाइरस विरुद्धको खोप लगाउन थालिएको छ । देशभरका स्थानीय तहसंगै आज काभ्रे जिल्लाका १३ स्थानिय तहमा पनि खोप अभियान सुचारु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाका अनुसार जिल्लाका १३ स्थानिय तहमा गरि आज १७ सय ४२ जना बृद्ध-बृद्धा नागरिकले खोप लगाएका छन् ।

जसमध्ये काभ्रेको बनेपा नगरपालिकामा १ सय ४६, धुलिखेल नगरपालिकामा १ सय २०, पनौती नगरपालिकामा १ सय ९७, पाँचखाल नगरपालिकामा ४ सय ३१, नमोबुद्ध नगरपालिकामा १ सय १० र मण्डनदेउपुर नगरपालिकामा १ सय ९ जनाले खोप लगाएका छन् ।

यस्तै रोशी गाउँपालिकामा १ सय २०, बेथानचोक गाउँपालिकामा ६३, भुम्लु गाउँपालिकामा १ सय २०, तेमाल गाउँपालिकामा १ सय १९, महाभारत गाउँपलिकामा ६०, चौरीदेउराली गाउँपालिकामा १ सय ४० र खानीखोला गाउँपालिकामा ७ जनाले खोप लगाएका छन् ।

आजै थपिए ९ जना नयाँ संक्रमित 

यसैबिच काभ्रेमा आज ९ जनालाइ कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाका अनुसार संक्रमित बनेपा नगरपालिका र धुलिखेल नगरपालिकाका रहेका छन् । आज थपिएका ९ जना संगै काभ्रेमा सक्रिय संक्रमितको संख्या १६ पुगेको छ ।

कोरोनाका कारण काभ्रेमा हालसम्म ६२ जनाको मृत्यु भएको छ जसमध्ये ४५ जना काभ्रे जिल्लाका रहेका छन् भने १७ जना अन्य जिल्लाका रहेका छन् ।


प्रतिक्रिया दिनुहोस