आज र भोली बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

नौलो समाचार संवाददाता
२०७८ बैशाख ६, सोमबार मा प्रकाशित ५८० पटक पढिएको
आज र भोली बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

बैशाख ६, काभ्रे । सरकारले आज र भोली राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने भएको छ। अभियान अन्तर्गत ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिइने छ।

यस्तै ६ देखि २३ महिनाका बालबालिकालाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम लागू भएका जिल्लामा वितरण समेत गरिने छ।

सरकारले चालु आर्थिक वर्षको दोस्रो चरणमा सम्पन्न गर्नुपर्ने राष्ट्रिय भिटामिन ए कार्यक्रम आज र भोली सञ्चालन गर्न लागेको हो।

कोरोना संक्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्यको मापदण्ड पालना गरी कार्यक्रम सञ्चालन स्वास्थ्य मन्त्रालयको आग्रह छ।

स्वास्थ्य मन्त्रालयले सामाजिक दूरी कायम गरी प्रतिघण्टा १० जना बालबालिकामात्र उपस्थित हुने गरी खोप केन्द्रको व्यवस्थापन गर्न सबै खोप केन्द्रहरुलाई आग्रह समेत गरेको छ ।

यस्तै, महिला स्वास्थ्य स्वयंसेविकाहरु र केन्द्रमा बालबालिकाहरु लिएर आउने अभिभावकले अनिवार्य मास्क लगाउनुपर्ने, भिटामिन ए वितरण केन्द्रमा साबुन पानीले हात धुने व्यवस्था मिलाउनुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भिटामिन ए कार्यक्रममा पाखुराको मध्य भागको परिधिको नाप लिने कार्य स्थगन गरिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोना संक्रमणको लक्षण देखिएका बालबालिका तथा अभिभावकहरुलाई खोप केन्द्रमा नआउन पनि स्वास्थ्य मन्त्रालयको आग्रह छ।

यस्ता बालबालिकाहरुलाई सम्बन्धित स्वास्थ्य संस्थाले नै राष्ट्रिय प्रोटोकल अनुसार भिटामिन ए क्याप्सुल, जुकाको औषधि खुवाउने र बालभिटा वितरण गर्नुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस