कोरोनाका कारण एसईई र कक्षा १२ को परीक्षा हुनेमा यो वर्ष पनि अन्योलता

नौलो समाचार संवाददाता
२०७८ बैशाख २२, बुधबार मा प्रकाशित ९०७ पटक पढिएको
कोरोनाका कारण एसईई र कक्षा १२ को परीक्षा हुनेमा यो वर्ष पनि अन्योलता

बैशाख २२, काठमाडौं। कोरोनाका कारण अघिल्लो वर्ष प्रभावित भएको एसईई र कक्षा १२ को परीक्षाको अन्योल यो वर्ष पनि अन्योलता देखिएको छ। कोरोनाको दोस्रो लहरले महामारीको रुप लिदै गएपछि परीक्षामा अन्योलता छाएको हो।

यो वर्षको एसईई सञ्चालन हुन अब तीन साता मात्र बाँकी छ। राष्ट्रिय जनगणना स्थगित भएको सन्दर्भमा विद्यालय तहको मुख्य मानिएका यी परीक्षा पनि स्थगित हुनसक्ने अनुमान गर्न थालिएको छ।

परीक्षाका सम्बन्धमा सम्बन्धित निकायको मौनताका कारण यतिबेला विद्यार्थी, अभिभावक तथा शिक्षकलाई समस्या भएको छ। गत वर्ष वैशाख २ गतेबाट कक्षा १० को पठनपाठन सुरु हुनुपर्नेमा बन्दाबन्दीले असारबाट वैकल्पिक माध्यमबाट पठनपाठन थालिएको थियो।

तर, सबै विद्यार्थीको पहुँचमा वैकल्पिक माध्यम पुग्न सकेको थिएन । गत मङ्सिर र पुसबाट बल्ल कक्षाकोठाभित्र प्रत्यक्ष पठनपाठन सुरु भएको थियो । त्यस्तै कक्षा १२ को पठनपाठन सुरु भएको छ महिना पनि भएको छैन । यसले गर्दा कक्षा १० र १२ को सबै कोर्स पूरा भइसकेको छैन ।

गत वर्ष परीक्षा सुरु हुनुभन्दा एक दिन अगाडि एसईई स्थगित गरिएको थियो । गत वर्ष कक्षा १० र १२ का विद्यार्थीले पूरै अवधिसम्म पढ्न पाएका थिए । तर यस वर्ष पूरै अवधि पढ्न पाएका छैनन् । गत वर्ष एसईईमा आन्तरिक मूल्याङ्कनका आधारमा र कक्षा १२ मा ४० प्रतिशत भारको लिखित तथा बाँकी अन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा लिइएको थियो ।


प्रतिक्रिया दिनुहोस