धुलिखेल –काठमाडौं नगरपालिकाको सहकार्यमा धुलिखेल नगरपालिका वडा नं ७ स्थित टुँडिखेलमा पार्क बन्ने भएको छ ।
टुँडिखेलमा रहेको पार्कलाई सुविधासम्पन्न तथा आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न काठमाडौँ महानगरपालिका र धुलिखेल नगरपालिकाबीच पूर्वाधार निर्माण तथा विकाससम्बन्धी सम्झौता भएको हो ।
सम्झौताअनुसार पार्कको पूर्वाधार निर्माणका लागि काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा रु. १ करोड आर्थिक सहयोग उपलब्ध गराउनेछ । ७ करोड लागतको उक्त आयोजना आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
मंगलबार आयोजित एक कार्यक्रमका बीच काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल र धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जंगमले ‘काठमाडौँ–धुलिखेल मैत्री पार्क’ निर्माणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
काठमाडौँबाट करिब ३० किलोमिटरको दूरीमा रहेको धुलिखेललाई पारिवारिक मनोरञ्जन, विश्राम र पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले यो सहकार्य अघि बढाइएको नगर प्रमुख जंगमले जानकारी दिए ।
यस साझेदारीले दुई स्थानीय तहबीचको संस्थागत सम्बन्धका साथै नागरिक–नागरिकबीचको मैत्रीपूर्ण सम्बन्धलाई समेत थप प्रगाढ बनाउने विश्वास लिइएको छ ।
सम्झौता हस्ताक्षर कार्यक्रममा दुवै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरूको उपस्थिति थियो ।





प्रतिक्रिया दिनुहोस