सामुहिक गिरफ्तारीको माग गर्दै काभ्रेली पत्रकारहरु जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा

नौलो समाचार संवाददाता
२०८३ मंसिर ९, बुधबार मा प्रकाशित ४७ पटक पढिएको

सामुहिक गिरफ्तारीको माग गर्दै काभ्रेली पत्रकारहरु जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा

धुलिखेल / नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक अगाडि सामूहिक गिरफ्तारीको माग गर्दै विरोध प्रदर्शन गरेको छ ।

प्रेस स्वतन्त्रता, पत्रकारको सुरक्षा र सञ्चारमाध्यममाथि भइरहेको हस्तक्षेप तथा आर्थिक दबाबविरुद्ध महासंघको जिल्ला शाखाले प्रशासन कार्यालय परिसरअगाडि प्रदर्शन गरेको हो । सहभागीहरूले ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर !’ लेखिएको ब्यानर तथा विभिन्न विरोधका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । सञ्चारगृह र पत्रकारमाथि भइरहेका विभिन्न ज्यादती तथा आर्थिक दबाबका विषयलाई प्रमुख माग र विरोधका मुद्दाका रूपमा उठाइएको छ ।

लोककल्याणकारी विज्ञापनको रकम काटिएको, श्रमजीवी पत्रकारलाई निकालिएको र समग्रमा मिडियामाथि आर्थिक नाकाबन्दी लगाइएको, मिडिया हाउसको गेटमा गाडी तेर्साएर राखिएको, मिडियामा धरपकड गरिएको तथा पत्रकारलाई गिरफ्तार गरिएको घटनाको विरोध गरिएकोमा नेपाल पत्रकार महासंघ आन्दोलित छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको अगाडि भेला भएका पत्रकार तथा सञ्चारकर्मीहरूले सञ्चार क्षेत्रमा देखिएका यी समस्याको समाधान र प्रेसको अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण गराउँदै विरोध जनाएका हुन् ।

नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपानेले सरकारी रबैया नसच्चिएसम्म आन्दोलन जारी रहने बताए ।

पूर्वअध्यक्ष भोजराज तिमल्सिनाले सशस्त्र युद्ध र पञ्चायतकालीन समय भन्दा पनि सरकार तानाशाही बन्दै गएको तर्क गरे ।






प्रतिक्रिया दिनुहोस


↑