धुलिखेल अस्पतालमा १० शय्याको ‘नबिल बर्न केयर वार्ड’ सञ्चालनमा

नौलो समाचार संवाददाता
२०८३ मंसिर ८, मंगलबार मा प्रकाशित ४४८ पटक पढिएको

धुलिखेल अस्पतालमा १० शय्याको ‘नबिल बर्न केयर वार्ड’ सञ्चालनमा

धुलिखेल / नेपालमा जलन (आगलागी वा तातो वस्तुले पोलेका) बिरामीहरूको विशिष्टीकृत उपचार र पुनर्स्थापना सेवालाई प्रभावकारी बनाउने उद्देश्यले धुलिखेल अस्पतालमा ‘नबिल बर्न केयर वार्ड’ सञ्चालनमा आएको छ। नबिल बैंक लिमिटेडको सहयोगमा स्थापित १० शय्याको उक्त विशेष वार्डको मङ्गलबार एक समारोहका बीच उद्घाटन गरिएको हो।

नबिल बैंक सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरी र धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक प्रा. डा. रामकण्ठ माकजु श्रेष्ठले संयुक्त रूपमा वार्डको उद्घाटन गरेका हुन्।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम ‘नबिल केयर’ अन्तर्गत स्थापना गरिएको यस वार्डले जलन पीडितहरूलाई आकस्मिक उपचारदेखि शल्यक्रिया, पुनर्स्थापना र मनोसामाजिक परामर्शसम्मको एकीकृत सेवा प्रदान गर्नेछ।

कार्यक्रममा बोल्दै नबिल बैंकका अध्यक्ष चौधरीले संस्थाको वास्तविक सफलता समाजमा पार्ने सकारात्मक प्रभावमा देखिने बताए । ‘जलन पीडितहरूको उपचार यात्रा लामो र पीडादायी हुन्छ। सुविधाको अभावमा कोही पनि उपचारबाट वञ्चित नहोऊन् भनेर हामीले स्वास्थ्य पूर्वाधारमा लगानी गरेका हौं,’ उनले भने ।

त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार ज्ञवालीले यसअघि सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र मधेस प्रदेशमा सञ्चालित निःशुल्क शिविरमार्फत करिब ५०० जलन पीडितको उपचार गरिसकिएको जानकारी दिँदै यो वार्ड सोही अभियानको दीर्घकालीन रूप भएको बताए।

धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. श्रेष्ठले ग्रामीण क्षेत्रका नागरिकले समेत विशेषज्ञ जलन उपचार सेवा पाउने विश्वास व्यक्त गर्दै नबिल बैंकसँगको सहकार्यले नेपालको जलन उपचार क्षेत्रमा उत्कृष्ट नमुना प्रस्तुत गर्ने बताए।

आर्थिक अवस्था वा पृष्ठभूमिका कारण कोही पनि गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने अस्पतालको नीतिलाई यस वार्डले थप बल पुर्‍याएको अस्पताल प्रशासनले जनाएको छ।






प्रतिक्रिया दिनुहोस


↑