धुलिखेल / काभ्रेपलाञ्चोक जिल्लास्थित मदानी बिट मिडिया प्रालिद्वारा सञ्चालित मदानी बिट डटकम स्थापनाको चौथो वर्षमा प्रवेश गरेको छ।
शुक्रबार धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टमा सम्पादक श्याम सापकोटाको सभापतित्वमा कार्यक्रम गरेर मदानी बिटले बार्षिकोत्सव मनाएको हो ।
समारोह उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सरकारका कमजोरी औँल्याउने, प्रश्न गर्ने र आलोचना गर्ने पत्रकार पनि लोकतन्त्रका महत्वपूर्ण साझेदार भएको बताए । प्रेस स्वतन्त्रता र आलोचनात्मक पत्रकारितालाई लोकतन्त्रको अभिन्न आधारका रूपमा व्याख्या गर्दै उनले सरकारलाई जवाफदेही बनाउन सञ्चारमाध्यमले निर्भीक र निष्पक्ष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। ‘सरकारको प्रशंसा गर्ने सञ्चारमाध्यम मात्रै सरकारका मित्र होइनन्। सरकारका कमजोरी औँल्याउने, प्रश्न गर्ने र आलोचना गर्ने पत्रकार पनि लोकतन्त्रका उत्तिकै महत्वपूर्ण साझेदार हुन्,’ उनले भने।
उनले पत्रकारलाई सरकारको प्रशंसा वा विरोधमा सीमित नभई तथ्यमा आधारित भएर प्रश्न गर्न, नागरिकका समस्या उठाउन र सार्वजनिक सरोकारका विषयमा सरकारलाई जवाफदेही बनाउन आग्रह गरे। बागमती प्रदेश सरकारले पत्रकारहरूको डिजिटल सीप विकास, तथ्य जाँचसम्बन्धी तालिम, साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ता तथा आधुनिक सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने नीति बनाइरहेको जानकारी दिँदै उनले यस क्षेत्रमा सम्बन्धित संस्था र सरोकारवालासँग सहकार्य गर्ने सोच रहेको बताए।
संस्थाको पत्रकारिता तथा सम्पादकीय यात्रामा पुर्याएको योगदानको कदर गर्दै वार्षिकोत्सवको अवसरमा अनलाइनका सहसम्पादक विकास तिमल्सिना र गोमा थापालाई नगद पाँच हजार पाँच सय ५५ रुपैयाँसहित सम्मान गरिएको छ।
प्रधान सम्पादक मोतिराम तिमल्सिनाले चौथो वर्ष प्रवेश गरेको मदानी बिट डटकमले आगामी दिनमा सत्य, तथ्य, निष्पक्षता र जनउत्तरदायी पत्रकारितालाई प्राथमिकतामा राख्दै आफ्नो यात्रा निरन्तर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।





प्रतिक्रिया दिनुहोस