धुलिखेल / नसालु पदार्थ खुवाएर बेहोस बनाई श्रृखंलाबद्ध लुटपाट तथा चोरीका गरगहना खरिद–बिक्रीमा संलग्न रहेको आरोपमा फरार रहेका ४ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले मंसिर ९ गते प्रेस नोट जारी गर्दै इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरी कानुनबमोजिम अनुसन्धानपश्चात् अभियोजनका लागि जिल्ला सरकारी वकिल कार्यालय काभ्रेपलाञ्चोकमा पेस गरिएको जनाएको छ ।
प्रहरीका अनुसार, पक्राउ पर्नेहरूमा चोरी गर्ने भूमिकामा संलग्न ओखलढुङ्गा चम्पादेवी गाउँपालिका वडा नं ९ घर भई हाल काभ्रेपलाञ्चोक बनेपा नगरपालिका वडा नं ५ बस्ने ५० वर्षीया संगिता तामाङ (कार्की) र काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका वडा नं १ बस्ने ३८ वर्षीय बिरध्वज तामाङ रहेका छन् । संगितालाई बनेपाको चारदोबाटोबाट पक्राउ गरिएको हो भने बिरध्वज प्रहरी वृत्त बौद्धबाट चोरी मुद्दामा धरौटीमा छुटी बनेपामा दाखिला गरिएका हुन् । त्यसैगरी चोरीको सुन किन्ने दोलखा बिगु गाउँपालिका वडा नं ४ घर भई हाल भक्तपुर मध्यपुर थिमी नगरपालिका वडा नं ४ बस्ने ४६ वर्षीय नवराज घिमिरे बि.क.लाई भक्तपुरबाट र काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं १ घर भई हाल बनेपा नगरपालिका वडा नं ७ बस्ने ३२ वर्षीय प्रविन सुनुवारलाई काभ्रेको खड्पुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, संगिता र बिरध्वजको संलग्नतामा काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा चार वटा श्रृखंलाबद्ध लुटपाटका घटना भएका थिए । बनेपा नगरपालिका वडा नं ६ मा भएको घटनामा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं ४ बस्ने ५४ वर्षीय गंगा बहादुर गुरुङलाई फकाईफुलाई गरी फ्रुटीमा नसालु पदार्थ मिसाई खुवाएर बेहोस बनाई नगद ४ हजार र ४ वटा राडी लुटिएको थियो । बेहोस भएका गुरुङ शिर मेमोरियल अस्पताल बनेपाको आईसीयूमा ४ दिन उपचार भई डिस्चार्ज भएका थिए ।
दोस्रो घटनामा खानिखोला गाउँपालिका वडा नं ४ घर भई हाल बनेपा नगरपालिका वडा नं ४ बस्ने ७० वर्षीया हिरामाया जिम्बा र उनका ७४ वर्षीय श्रीमान हस्त बहादुर जिम्बालाई आफ्नै घरमा दूधमा नसालु पदार्थ खुवाएर बेहोस बनाई कानमा लगाउने सुनको रिङ २ थान र सुनको तिलहरी १ थान लुटपाट गरिएको थियो । घाइते हिरामायाको शिर मेमोरियल अस्पताल र अल्का अस्पताल जावलाखेलमा ७ दिन तथा हस्त बहादुरको शिर मेमोरियल अस्पतालमा १ दिन उपचार भएको थियो।
बनेपा नगरपालिका वडा नं ३ मा भएको घटनामा पनौती नगरपालिका वडा नं ४ बस्ने ५१ वर्षीय हेम बहादुर बस्नेतलाई लेमन जुसमा नसालु पदार्थ खुवाएर बेहोस बनाई सुनको सिक्री १ थान, मोबाइल १ थान र सुनको औँठी १ थान लुटिएको थियो । चौथो घटनामा नमोबुद्ध नगरपालिका वडा नं ११ बस्ने ६७ वर्षीया पञ्च माया तामाङ घरमा बसिरहेका बेला दुई जना व्यक्तिले खानेकुरामा नसालु पदार्थ हाली खुवाएर बेहोस बनाई कानमा लगाउने १ तोलाको सुनको रिङ लुटेर लगेका थिए ।
पीडितहरूसँगको समन्वय तथा प्राप्त प्रमाणका आधारमा लुटिएका गरगहनामध्ये गंगा बहादुर गुरुङ र हिरामाया जिम्माका गरगहना मध्यपुर थिमी नगरपालिका .वडा नं ४ चारदोबाटोस्थित जय शिव शक्ती सुनचाँदी ज्वेलर्स का सञ्चालक नवराज घिमिरे बि.क.ले तथा पञ्च माया तामाङका गरगहना धुलिखेल नगरपालिका वडा नं ५ स्थित गणेश सुन चाँदी पसल का सञ्चालक प्रविन सुनुवारले बिल÷रसिदबिना खरिद गरेको खुलेको प्रहरीले जनाएको छ ।
संगिता र बिरध्वज काठमाडौँको तिनचुलीस्थित कान्छी तामाङलाई नसालु पदार्थ खुवाई बेहोस बनाई सुन तथा नगद चोरी गरी फरार थिए । दुवै जनाको नाममा यसअघि चोरी तथा अभद्र व्यवहारका मुद्दा र धरौटी/जरिवानाका अभिलेख रहेको प्रहरीले जनाएको छ । नवराज घिमिरे बि.क. पनि यसअघि चोरीको सुन बिलबिना खरिद गरी स्वरूप परिवर्तन गरेको कसुरमा पक्राउ परी दुई वटा मुद्दामा जनही ६० हजार दरले १ लाख २० हजार धरौटी तिरी तारिखमा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले संगिताको साथ र कोठाबाट ३ ग्राम सेतो धुलो पदार्थ, घटनास्थलमा प्रयोग भएको कालो किप्याड मोबाइल १ थान, भिभो मोबाइल १ थान, राडी, कुर्था, सुरुवाल, ज्याकेट र जुत्ता बरामद गरेको छ । साथै नवराजको पसलबाट स्वरूप परिवर्तन गरी ढिक्का बनाइएको अवस्थामा १२.२ लाल, ४२.७ लाल, २६.५ लाल र ११.१ लाल सुन जस्तो देखिने धातु तथा प्रविनको पसलबाट सुन जस्तो देखिने कानमा लगाउने ११.६८ ग्रामको रिङ (१ जोर) बरामद गरेको छ ।
पक्राउ परेका व्यक्तिहरूले अन्य स्थानमा समेत यस्तै प्रकृतिको कसुर घटाएको हुन सक्ने भएकाले अन्य पीडित भए जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।





प्रतिक्रिया दिनुहोस