काभ्रेका स्थानीय तहहरुले संक्रमितको शव व्यवस्थापन गर्ने, कुन स्थानीय तहको शव व्यवस्थापन कहाँ ?

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ ४, मंगलबार मा प्रकाशित ८०७ पटक पढिएको
काभ्रेका स्थानीय तहहरुले संक्रमितको शव व्यवस्थापन गर्ने, कुन स्थानीय तहको शव व्यवस्थापन कहाँ ?

जेठ ४, काभ्रे। काभ्रे जिल्लामा कोरोना संक्रमितको मृत्युदर बढेसँगै जिल्लाका स्थानीय तहहरुले शव व्यवस्थापन गर्ने भएका छन् । जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको आज (मंगलबार) बसेको बैठकले स्थानीय तहका विभिन्न स्थानमा शव व्यवस्थापन गर्ने निणर्य गरेको छ।

केन्द्रको संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहहरुबाट पहिचान भइ आएको स्थानहरुलाई नै शव व्यवस्थापनको लागि तोकिएको छ । दिनादिन संक्रमितको मृत्यु हुन थालेपछि केन्द्रको बैठकले जिल्लामा शव व्यवस्थापनको स्थान तोक्नु परेको जनाएको छ ।

कुन स्थानीय तहको शव व्यवस्थापन कहाँ ?

पाँचखाल नगरपालिकाको लागि शव व्यवस्थापनको स्थान पाँचखाल र भुम्लु गाउँपालिका बीचको दोलालघाट बगर क्षेत्र तोकिएको छ। त्यसैगरी मण्डनदेउपुर नगरपालिकाका लागि वडा नम्बर ७ र ९ को सिमानको मशानेपार्टी घाट क्षेत्र तोकिएको छ भने बैकल्पिक क्षेत्र वडा नम्बर १ र ५ को सिमाना पर्ने लट्टघारी वन क्षेत्र र वडा नम्बर १२ को बाँसखार्क लगायतका सामुदायिक वन क्षेत्र तोएिको छ ।

त्यसैगरी चौंरीदेउराली गाउँपालिकाका लागि चिहानडाँडा, गोठपानी सुङ्गेखोला, चौरीखोला वडा नम्बर ५, चलाखु चिहानडाँडा, काफ्ले चिहानडाँडा, सलम्बु चिहानडाँडा र चौरीखोला वडा नम्बर ३ तोकिएको छ ।

त्यस्तै भुम्ल गाउँपालिकाका लागि सुनकोसी नदि र ईन्द्रावती नदिको दोभान तोकिएको छ भने खानीखोला गाउँपालिकाका लागि बागमती घाट खानीखोला गाउँपालिका ५ तोकिएको छ ।
रोशी गाउँपालिकाका लागि भने भ्याकुरे खोला र रोशी खोला त्रिवेणी घाट क्षेत्र तोकिएको छ । तर बनेपा, धुलिखेल, पनौती लगायत केही स्थानीय तहको भने शव व्यवस्थापन गर्ने स्थान तोकिएको छैन।

जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णय 


प्रतिक्रिया दिनुहोस