भुम्लु / भुम्लु गाउँपालिकामा सातौँ संस्करणको ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ वडा नं. ५ स्थित चौरकुना खेल मैदानमा शुरु भएको गाउँपालिका स्तरीय प्रतियोगितामा १० माध्यमिक विद्यालयका २ सय २३ विद्यार्थी प्रतिष्पर्धामा छन्। कात्तिक १८ गते बुधबार सुरु भएको प्रतियोगिता कात्तिक १९ र २० गतेसम्म गरी तीन दिनसम्म सञ्चालन हुनेछ।
शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा शुरु भएको प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल र उपाध्यक्ष जितेन्द्रकुमार तामाङ (दावा लामा) ले संयुक्त रुपमा गरे ।

अरुणोदय माध्यमिक विद्यालय, भुम्लु-०२, सिम्थली, जनता माध्यमिक विद्यालय, भुम्लु-०६, कोलाती, सेती देवी माध्यमिक विद्यालय, भुम्लु-०१, श्री सेतीदेवी माध्यमिक विद्यालय, भुम्लु-०४, प्रकाश माध्यमिक विद्यालय, भुम्लु-०८, वनदेवी माध्यमिक विद्यालय, भुम्लु-०३, शारदा माध्यमिक विद्यालय, भुम्लु-०७, फलाँटे र दुलालेश्वर माध्यमिक विद्यालय, भुम्लु-०८, दोलालघाट, सेतीदेवी माध्यमिक विद्यालय, भुम्लु-०४ र वाग्देवी माध्यमिक विद्यालय, भुम्लु-०५, मुलाबारीबाट सहभागिता छ ।
छात्रतर्फ भलिबल र कबड्डी खेल समावेश गरिएको छ। ट्र्याक इभेन्टतर्फ छात्रहरूले १०० मिटर, २०० मिटर, ४०० मिटर र ८०० मिटरको एकल दौड प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। यसका साथै टिम सहभागिता रहने ४x१०० मिटर रिले र ४x४०० मिटर रिले दौड पनि छात्रतर्फ सञ्चालन हुनेछ। फिल्ड इभेन्ट अन्तर्गत छात्रहरूका लागि हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभ्लिन थ्रो, र सटपुट जस्ता विधामा उत्कृष्ट खेलाडी चयनका लागि प्रतिस्पर्धा गराइनेछ।
छात्रातर्फ भलिबल र कबड्डी जस्ता खेल हुनेछन्। छात्राहरूले १०० मिटर, २०० मिटर र ४०० मिटरको एकल दौड प्रतियोगितामा आफ्नो गति प्रदर्शन गर्नेछन्। समूहगत रूपमा खेलिने ४x१०० मिटर रिले र ४x४०० मिटर रिले दौडमा पनि छात्राहरूको छुट्टै प्रतिस्पर्धा हुनेछ। फिल्ड इभेन्टतर्फ छात्राहरूले हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभ्लिन थ्रो, र सटपुट जस्ता खेलहरूमा आफ्नो प्रतिभा देखाउने अवसर पाउनेछन्।

कात्तिक २० गते शुक्रबार समापन तथा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ।





प्रतिक्रिया दिनुहोस