धुलिखेलमा जंगली च्याउ खाँदा २ जनाको मृत्यु, ४ जनाको उपचार हुदै

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ १८, मंगलबार मा प्रकाशित ११७४ पटक पढिएको
धुलिखेलमा जंगली च्याउ खाँदा २ जनाको मृत्यु, ४ जनाको उपचार हुदै

जेठ १८, काभ्रे। काभ्रेको धुलिखेलमा जंगली च्याउ खाँदा २ जनाको मृत्यु भएको छ। धुलिखेल नगरपालिका वडा नम्बर-८ पकुचामा बस्ने थामी परिवारले जंगली च्याउ खाँदा २ जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी हरि खतिवडाका अनुसार ४३ बर्षका नरबहादुर थामीको घरमै तथा २५ बर्षकी विमला थामीको पाटन अस्पतालमा मृत्यु भएको हो।

दोलखा जिल्ला बैत्तेश्वर गाउँपालिका-६ स्थायी घर भएका थामी परिवार केहि बर्षदेखि धुलिखेल ८ पकुचामा बस्दै आएका छन्। प्रारम्भिक अनुसन्धानमा उनीहरुले जंगली च्याउ खाँदा थामी परिवारका २ जनाको मृत्यु भएको देखिएको डिएसपी खतिवडाले बताउनुभयो।

जंगली च्याउ खाँएका परिवारका अन्य एक जनाको अवस्था गम्भीर रहेको छ भने अरु ३ जना भने सामान्य विरामी परेका छन् । प्रवक्ता खतिवडाका अनुसार विरामी मध्ये २९ बर्षका पूर्ण थामीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ भने २७ बर्षका सुर्य थामी,  १९ बर्षका कृष्ण थामी र ६२ बर्षका रामबहादुर थामीको अवस्था सामान्य रहेको जानकारी दिनुभयो।

प्रारम्भिक अनुसन्धानमा जंगली ज्याउ खाएको देखिए पनि थप अनुसन्धान र  परीक्षण पश्चात कसरी विरामी तथा मृत्यु भयो भन्ने थाहा हुने  खतिवडाले बताउनुभयो।


प्रतिक्रिया दिनुहोस