जेठ २७, भक्तपुर। भक्तपुरमा कोरोना भाइरस (कोभिड-१९)को बिषयमा स्वास्थ्यकर्मीसंग जुम सेमिनार आयोजना सम्पन्न भएको छ। भक्तपुर सांगीतिक समाजको आयोजनामा भक्तपुर अस्पतालका डाक्टर सुनिल ढुंगेलको साथमा कोभिड-१९ को समग्र बिषयमा जुम सेमिनारको आयोजना गरिएको हो।
कार्यक्रममा सहभागी वक्ताहरुले कोरोना भाइरससंग सम्बन्धित जिज्ञासाहरु डा. सुनिल ढुंगेलसमक्ष राखेका थिए। सहभागीहरुको जिज्ञासालाइ प्रष्ट पर्दै डा. ढुंगेलले नेपालमा कोरोनाको संक्रमणदर कम भएपनि कोरोनालाई सामान्य रुपमा लिएर हेलचेक्र्याइँ गर्न नहुनेमा जोड दिनुभयो। उहाँले सदैव स्वास्थ्य सम्बन्धि मापदण्ड अनिवार्य पालना गर्न आग्रह गर्दै आफुमा कोरोनाको कुनै पनि लक्षण देखिएमा घरमै एकान्तबास (होम आइसोलेसन)मा बसी पिसिआर परिक्षण गराई अन्य व्यक्तिलाई संक्रमण हुनबाट जोगाउन र असल नागरिकको जिम्मेवारी पालना गर्न सबैसंग आग्रह गर्नुभयो।
स्वास्थ्य मापदण्ड पालना गर्दै दैनिक खानपान र झोलिलो खानामा ध्यान दिदै स्वास्थ्यकर्मीको सल्लाह बमोजिम औषधि उपचार गरियो भने कोरोनालाई सजिलै परास्त गर्न सकिने डा. ढुंगेलको भनाई छ। तनावले रोगप्रतिरोधी क्षमता कम गर्ने हुनाले तनाव नलिन र प्रोटिनयुक्त खानामा जोड दिन सुझाव दिनुभयो।
यसैबीच अर्को प्रसंगमा डा. ढुंगेलले महामारीको समयमा आफ्नो ज्यान जोखिममा राखेर २४ सै घण्टा पिपीई लगाई कष्टकर रुपमा बिरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि हुनेगरेका सांघातिक हमला निन्दनीय र अक्षम्य रहेको बताउनुभयो।
कार्यक्रममा सहभागी प्रमुख वक्ता तथा कार्यक्रमलाई सहयोग गर्नु हुने सम्पुर्ण व्यक्ति तथा संघसस्थाहरुलाई भक्तपुर सांगीतिक समाजका अध्यक्ष प्रविण शाहीले धन्यवाद ज्ञापन गर्नु भएको थियो।
कार्यक्रमलाई सफलतापुर्वक गायक तथा रेडियो प्रस्तोता कपिल कसपालले संचालन गर्नु भएको थियो भने कार्यक्रमको संयोजन मोर्डन बोर्डिङ स्कुल दधिकोटले गरेको थियो। कार्यक्रमलाई बिशेष सहयोग सुरज श्रेष्ठ काठमाडौं ब्रम्हखेल हाल USA ले गर्नु भएको थियो।
भक्तपुर सांगीतिक समाजका सचिब अल्बेर्ट बज्राचार्यले सबैको सहयोग तथा सहभागीताको लागि खुशी व्यक्त गर्दै कार्यक्रममा स्वागत मन्तव्य मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा भक्तपुर सांगीतिक समाजका कोषाध्यक्ष तथा गायक रोशन धौभडेल द्वारा गायिएको कोभिड-१९ सम्बन्धि गीत “सचेत रहौ”को बिशेष प्रशारण पनि गरिएको थियो।
प्रतिक्रिया दिनुहोस