सिन्धुपाल्चोकमा बाढी र पहिरोको बितण्डा: डुब्यो मेलम्ची बजार, करोडौका भौतिक संरचना बगे, कैयौ मानिस बेपत्ता 

नौलो समाचार संवाददाता
२०७८ अषाढ २, बुधबार मा प्रकाशित ११०७ पटक पढिएको
सिन्धुपाल्चोकमा बाढी र पहिरोको बितण्डा: डुब्यो मेलम्ची बजार, करोडौका भौतिक संरचना बगे, कैयौ मानिस बेपत्ता 

असार २, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकका इन्द्रावती, सुनकोशी र ब्रम्हायणी लगायतका नदिहरुमा आएको बाढी र आसपासको पहिरोले ठूलो जनधनको क्षति गराएको छ।

अविरल वर्षासँगै आएको बाढीले मेलम्ची बजारमा क्षति पुर्‍याएको छ। मेलम्ची खोलामा आएको बाढीका कारण बस्ती डुबानमा पर्नुका साथै घर र पुलहरू बगाएको छ।

मेलम्ची खानेपानी ड्याम पुरिएको छ भने, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षत बिक्षत बनाएको छ। यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल सम्पूर्ण बगाएको खबर छ।

हिजो साँझ करिव सात बजेबाट बाढी सुरु भएको र सुरक्षाकर्मीहरु परीचान भएपनि राति धेरै काम गर्न नसकिएकाले क्षतिका यकिन तथ्यांक आइनसकेको  र आज बिहान सबेरै देखि उद्धार र खोजिका लागी नेपालि सेना, शसस्त्र तथा नेपाल प्रहरी र स्थानीय बासिहरु घटना स्थलमा खोजी कार्य तथा उद्धार कार्यमा जुटेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ।

बाढीमा स्थानीयहरूसमेत बगेको आशंका गरिए पनि कति बेपत्ता भए भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरीका अनुसार अहिलेसम्म दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे पुल र घर बगेको विवरण छ। इन्द्रावती र मेलम्ची जोड्ने मोटरेबल पुल बगेको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए।

हेलम्बुबाटै उर्लिंदै आएको मेलम्चीले आठवटा ट्राउट माछा फर्म, नाकोते पुल, तिम्बु, चनौटे बजार, खेतीयोग्य जमिन, आमाह्योल्मो बसपार्क, सिटी पार्क बगाएको उनले जानकारी दिए।

कैयौ मानिस बेपत्ता 

बिभिन्न बस्तीका मानिसहरु भागदौड र बाढीको असरका कारण सम्पर्कमा आउन नसकेको स्थानीय बासिन्दाहरुले वताएका छन।

एक जनाको मृत्युको आशंका गरिए पनि एकिन भने भैसकेको छैन ।

मानवीय क्षतिको वास्तविक विवरण नआएको तर दुई महिला र पाँच पुरुष बेपत्ता भएको आशंका रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ।

हेलम्बुस्थित प्रहरी कार्यालय र मेलम्ची खानेपानी आयोजनाको चिनियाँ क्याम्प, सशस्त्र क्याम्पमा पनि बाढीले क्षति पुर्‍याएको छ ।

प्रहरीका अनुसार बाढीबाट विस्थापित भएका दर्जनभन्दा बढी परिवारमध्ये अधिकांशले खुला आकाशमुनि रात बिताएका छन् ।


प्रतिक्रिया दिनुहोस