बागमती प्रदेश सरकारको निर्णय बदरको माग गर्दै सिडियोलाई पत्रकारको विज्ञप्ति

नौलो समाचार संवाददाता
२०७८ अषाढ ६, आईतबार मा प्रकाशित ६४९ पटक पढिएको
बागमती प्रदेश सरकारको निर्णय बदरको माग गर्दै सिडियोलाई पत्रकारको विज्ञप्ति

असार ६, काभ्रे। नेपाल पत्रकार महासंघ काभ्रेले जिल्ला प्रशासन कार्यालय काभ्रे समक्ष ज्ञापनपत्र बुझाएको छ। नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिनासहितको पत्रकारहरुको टोलीले प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलसमक्ष ज्ञापनपत्र बुझाएको हो।

बागमती प्रदेश सरकारले निजी तथा सामुदायिकस्तरबाट सञ्चालित सञ्चारमाध्यमलाई घाँटी निमोठेर स्वतन्त्र प्रेस र नागरिकका आवाज दबाउने मनासयले लोकतन्त्रको मूल्यमान्यता उपहास हुने गरी आफैंले सञ्चारमाध्यम खोल्न बजेट विनियोजन गरेकोप्रति गम्भीर आपत्ति जनाइएको छ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेश कार्यसमिति र जिल्ला अध्यक्षहरुको भर्चुअल बैठकबाट भएको निर्णय अनुसार बागमती प्रदेशका सबै जिल्लामा एकै समय आज (आईतबार) दिउँसो १ बजे जिल्ला प्रशासन कार्यालयमार्फत बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाइ ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्तर्गत काभ्रेमा पनि सिडियोलाई विज्ञप्ति बुझाउँदै ध्यानाकर्षण गराएको छ।

सञ्चारमाध्यमको प्रवद्र्धन र सञ्चारकर्मीको हितमा बजेट ल्याउन माग गर्दै सरकार आफैँले आम सञ्चारगृह सञ्चालन गर्ने निर्णय फिर्ता लिन माग गरिएको छ। उक्त निर्णय फिर्ता नभए महासंघ आन्दोलनमा उत्रन बाध्य हुने जनाइएको छ।


प्रतिक्रिया दिनुहोस