पनौती नगरपालिकाको नवौ नगरसभा कांग्रेसद्वारा बहिष्कार (भिडियो)

नौलो समाचार संवाददाता
२०७८ अषाढ ८, मंगलबार मा प्रकाशित १०४२ पटक पढिएको
पनौती नगरपालिकाको नवौ नगरसभा कांग्रेसद्वारा बहिष्कार (भिडियो)

असार ८, काभ्रे। पनौती नगरपालिकाको नवौ नगरसभा कांग्रेसले बहिष्कार गरेको छ। आज सम्पन्न भएको नगरसभामा नगरपालिकाले स्थानीय तहसंग समन्वय नगरी एकलौटी रुपमा बजेट प्रस्तुत गरिएको भन्दै कांग्रेसका ६ जना वडा अध्यक्षसहित २३ जना नगर सदस्यद्वारा नगरसभा बहिष्कार गरेका हुन्।

कांग्रेसले जितेको सम्पूर्ण वडाहरुमा बजेट तर्जुमा गर्दा उपेक्षा गरिएको र एकलौटी रुपमा बजेट प्रस्तुत गरिएको वडा अध्यक्ष तथा नगर सदस्यहरुको आरोप रहेको छ।

उनीहरूले विभिन्न ११ बुँदामा ध्यानाकर्षण समेत गराएका छन् । कांग्रेसका जनप्रतिनिधिहरूले अघिल्लो बर्ष पनि नीति, कार्यक्रम तथा बजेट बहिष्कार गरेका थिए। वडा नम्बर ६, ७, ८,९, १० र ११ का वडा अध्यक्ष र २३ जना नगर सदस्यद्वारा नगरसभा बहिष्कार गरेका हुन्।

वडा नं ६ का वडाअध्यक्ष सुधिर सापकोटा, वडा ७ का अध्यक्ष रामचन्द्र नासनासी, वडा नं ८ का अध्यक्ष केशव वञ्जारा, वडा नं ९ का अध्यक्ष सहकुल हुमागाईं, वडा नं १० का अध्यक्ष मोहनबहादुर भण्डारी, वडा नं ११ का अध्यक्ष तारामान लामा, वडा नं १० का महिला वडा सदस्य सरिता अधिकारी लगाएतले नगरसभा बहिष्कार गर्ने कारण बारे बोलुभेको थियो।

बजेटमा आफूहरूको असन्तुष्टि रहेको कुरा हिजोको बैठकमा राखे पनि आजको बैठकमा पनि सो कुरा नगर प्रमुखले सम्बोधन नगरेपछि आफुहरु बाध्य भएर नगरसभा बहिष्कार गर्नु परेको वडा नम्बर ९ का अध्यक्ष सहकुल हुमागाईले बताउनुभयो।

उनीहरूले कार्यपालिका बैठकमा सहमति गरिएभन्दा बढी बजेट ल्याएकोमा समेत विरोध गरेका छन्।

कांग्रेसले नगरसभा बहिष्कार गर्नुको कारणबारे नगर प्रमुख भिम न्यौपानेसंग जिज्ञासा राख्दा भोलि हुने पत्रकार सम्मेलनमा जवाफ दिने बताउनुभयो।

आज सम्पन्न नगरसभाले १ अर्ब ६५ करोड ६६ लाख ३५ हजारको बजेट पेश गरेको छ।

बहिष्कार गर्नुपर्ने कारणबारे वडा अध्यक्षहरु के भन्छन ? थप भिडियोमा हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस