बजेट तलमाथि भएपनि पार्टीगत रुपमा बिभेद गरेको छैन: नगरप्रमुख न्यौपाने

नौलो समाचार संवाददाता
२०७८ अषाढ ९, बुधबार मा प्रकाशित ९५९ पटक पढिएको
बजेट तलमाथि भएपनि पार्टीगत रुपमा बिभेद गरेको छैन: नगरप्रमुख न्यौपाने

असार ९, काभ्रे। पनौती नगरपालिकाको नवौं नगरसभाले पारित गरेको नीति, कार्यक्रम तथा बजेट नीति सम्बत् आएको नगरप्रमुख भीम न्यौपानेले बताउनुभएको छ। नगरसभाको दोश्रो दिन हिजो बजेट प्रति असन्तुष्टि व्यक्त गर्दै सभाबाट बाहिरिएका २३ जना जनप्रतिनिधि तर्फ इंगित गर्दै नगरप्रमुख न्यौपानेले बजेटमा विभेद नगरिएको स्पष्ट पार्नुभएको छ। आज (वुधबार) नगरपालिकाको सभा हलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उक्त कुरा बताउनुभएको हो।

हिजो (मंगलबार) कांग्रेसबाट निर्वाचित ६ जना वडा अध्यक्ष सहित २३ जना नगरसभा सदस्यहरूले नगर प्रमुखले एकलौटी ढंगबाट बजेट ल्याएको आरोप लगाउँदै नगरसभा बहिष्कार गरेको बताएका थिए।

पनौती नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १ खर्ब ६५ करोड, ६६ लाख, ३५ हजारको बजेट नवौं नगरसभाबाट पारित गरेको छ।

कांग्रेसबाट निर्वाचित भएका वडाहरुमा बजेटमा बिभेद गरिएको भन्ने आरोप गलत भएको बताउदै नगरप्रमुख न्यौपानेले बजेटमा सबै क्षेत्रलाइ समेट्दा वडाबाट शिफारिस भएर आएका बजेटमा केहि रकम तलमाथि परेको हुन् सक्ने उल्लेख गर्नुभयो। तर पार्टीगत हिसाबले पनौतीका कुनै पनि वडालाई बजेटमा विभेद नगरिएको उहाँले स्पष्ट पार्नुभयो।

पनौती नगरपालिकाका नगरप्रमुख भीम न्यौपानेले नगरपालिकाभित्रका कुनैपनि वडालाई बजेटमा विभेद नगरिएको बताउनुभएको छ । नवौं नगरसभाले पारित गरेको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै नगरप्रमुख न्यौपानेले यस्तो बताउनुभएको हो ।

बजेटमा आफूहरूको असन्तुष्टि रहेको कुरा सोमबारको पहिलो बैठकमा राखे पनि मंगलबारको बैठकमा पनि सो कुरा नगर प्रमुखले सम्बोधन नगरेपछि आफुहरु बाध्य भएर नगरसभा बहिष्कार गर्नु परेको ६ जना वडा अध्यक्ष सहित २३ जना नगरसभा सदस्यहरूले बताएका थिए।

उनीहरूले कार्यपालिका बैठकमा सहमति गरिएभन्दा बढी बजेट ल्याएकोमा समेत विरोध गरेको वताएका थिए।

सोहि कुरालाई उठान गर्दै नगरप्रमुख न्यौपानेले सबै कुरा विधि, विधान र पद्धति अनुरुप आएको र केहि तिर्नुपर्ने ऋण पनि भएकाले तय गरिएभन्दा केहि बढी बजेट देखिएको बताउनुभयो।

नगरपालिकाका ६३ जना नगरसभा सदस्य मध्ये ४० जनाको उपस्थितिमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरिएको थियो।


प्रतिक्रिया दिनुहोस