सार्वजनिक यातायात खुलाउन प्रशासन ‘सकारात्मक’, स्वास्थ्य मापदण्ड अपनाएर यातायात सञ्चालन गर्ने

नौलो समाचार संवाददाता
२०७८ अषाढ १२, शनिबार मा प्रकाशित ७५३ पटक पढिएको
सार्वजनिक यातायात खुलाउन प्रशासन ‘सकारात्मक’, स्वास्थ्य मापदण्ड अपनाएर यातायात सञ्चालन गर्ने

असार १२, काठमाडौँ। झण्डै दुई महिनादेखि बन्द रहेको सार्वजनिक यातायात खुलाउने विषयमा छलफल सुरु भएको छ। कसरी सुरक्षित रुपमा यातायात सञ्चालन गर्ने भन्ने विषयमा विशेषगरी काठमाडौँ उपत्यकाका तीन वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीले छलफल थालेका हुन्।

असार १४ गतेपछि स्वास्थ्य मापदण्ड अपनाएर नयाँ मोडालिटीका साथ यातायात सञ्चालन गर्ने तयारीका साथ विभिन्न निकायसँग छलफल सुरु गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले जानकारी दिनुभयो। अस्ति बिहीवार स्वास्थ्य मन्त्रालय, यातायात व्यवस्था विभाग, यातायात मजदुर, यातायात व्यवसायी र प्रमुख जिल्ला अधिकारीहरुबीच यातायात सञ्चालन गर्ने सम्बन्धमा भएको छलफलमा १७ गतेदेखि आन्तरिक उडान पनि सञ्चालन हुने भएकाले सार्वजनिक यातायात पनि खुलाउने विषयले प्राथमिकता पाएको थियो।

जोर बिजोर या सङ्ख्या नै तोकेर गाडी चलाउन सकिने विषयमा प्रमुख जिल्ला अधिकारीहरु सकारात्मक देखिएका छन् । तर पहिले महामारीपछि गाडी खुल्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नभएको भन्दै अब त्यस्तो हुन नदिइने प्रजिअ रिजालले जानकारी दिनुभयो।

यातायात व्यवसायीको माग र मोडालिटी तय गरेर यातायात सञ्चालनको लागि सीसीएमसीमा प्रस्ताव लैजाने तर कहिले खुल्छ भनेर ठ्याक्कै भन्न नसकिने उहाँले बताउनुभयो। नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राईले यातायात मजदुरहरु बिचल्लीमा परेको भन्दै कि त यातायात खुलाउनुपर्ने नत्र सबैलाई राहत दिनुपर्ने माग गर्नुभएको छ।

source: ujyaaloonline

प्रतिक्रिया दिनुहोस