नमोबुद्धमा दलित समुदायलाई शुद्ध पानीका लागि फिल्टर वितरण, आयमुलक प्रयोगका लागि बाजा खरिदको योजना

नौलो समाचार संवाददाता
२०७८ अषाढ १६, बुधबार मा प्रकाशित ६७७ पटक पढिएको
नमोबुद्धमा दलित समुदायलाई शुद्ध पानीका लागि फिल्टर वितरण, आयमुलक प्रयोगका लागि बाजा खरिदको योजना

असार १६, काभ्रे। नमोबुद्ध नगरपालिका-१० दाप्चाका दलित समुदायलाई शुद्ध पिउने पानीका लागि फिल्टर वितरण गरिएको छ।
वडाका सबै ८० दलित परिवारका लागि एक/एक थान फिल्टर वितरण गरिएको हो। आज (बुधबार) आयोजित एक कार्यक्रममा नगरपालिका उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वडा नं- १० का अध्यक्ष रामकृष्ण अधिकारी लगायतले फिल्टर वितरण गर्नुभएको हो।

नमोबुद्ध नगरपालिकाले प्रत्येक वडाका लागि दलित समुदायको आयआर्जन कार्यक्रमका लागि एक/एक लाख रुपैयाँको दरले बजेट विनियोजन गरेको थियो। सोही रकमबाट स्वस्थ जीवनका लागि शुद्ध पिउने पानी अपरिहार्य रहेको सन्देश प्रवाहका लागि चेतनामुलक कार्यक्रम समेटेर पानी शुद्ध बनाउने फिल्टर वितरण गरिएको हो।

कार्यक्रममा उपप्रमुख रामदेवी तामाङले दलित समुदायको उत्थानका लागि नमोबुद्ध नगरपालिकाले विभिन्न कार्यक्रमहरु गर्दै आएको र यसको पूर्ण तथा सफल कार्यान्वयनका लागि सोही समुदायका व्यक्तिहरु बढी क्रियाशिल भएमा प्रभावकारी बन्ने बताउनुभयो। दलित समुदायको आयआर्जन वृद्धि गर्दै आर्थिक उन्नतिका लगि नमोबुद्ध नगरपालिकाबाट कस्ता अपेक्षा रहेका छन् माग गर्नसमेत उहाँले आग्रह गर्नुभयो। उहाँले बालबालिकालाई शिक्षादिक्षा दिन आग्रह गर्दै चेतनाको विकास नै सबैभन्दा ठूलो विकास भएको पनि बताउनुभयो।

यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले लक्षित वर्गका लागि नगरले सक्दो बजेट विनियोजन गरेको र त्यो बजेट लक्षित वर्गसम्म पुग्नुपर्नेमा जोड दिनुभयो। नगरपालिकाले दलित समुदायको आयआर्जन कार्यक्रमअन्तर्गत फरकफरक वडामा फरकफरक ढंगका कार्यक्रमहरु कार्यान्वयनमा लगिएको पनि बताउनुभयो। अहिलेको अवस्थामा शुद्ध पिउने पानी स्वास्थ्यका लागि महत्वपुर्ण भएको महसुस गर्दै सांकेतिकरुपमा चेतनामुलक कार्यका लागि फिल्टर वितरण गरिएको र यसको पूर्ण सदुपयोग गर्न उहाँले आग्रह गर्नुभयो। वडा नं- १० का वडाअध्यक्ष रामकृष्ण अधिकारीले आगामी दिनमा संस्कृति संरक्षणका लागि आयमुलक कार्यमा प्रयोगका लागि बाजा खरिदको योजना बनाइएको बताउनुभयो। विगतमा पनि दलित समुदायको उन्नति र उत्थानका लागि वडा तथा नगरले कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने उहाँले बताउनुभयो।

कार्यक्रममा नमोबुद्ध नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेले वडा नं- १० मै वातावरणमैत्री टोल घोषणा गरिएको जानकारी दिँदै यसको सफल कार्यानवयनका लागि शुद्ध पिउने पानी अनिवार्य आवश्यकता रहेको बताउनुभयो। पानीबाट लाग्ने रोगबाट नगरबासी सुरक्षित होउन् भन्ने उद्देश्यले यस्ता कार्यक्रममा पनि नगरपालिकाले जोड दिएको उहाँले बताउनुभयो। कार्यक्रममा वडा सदस्य बिष्णुमाया बिकले कार्यक्रमको आवश्यकताका विषयमा प्रष्ट पार्नुभएको थियो।

नमोबुद्ध नगरपालिकाले दलित आयआर्जन कार्यक्रमअन्तर्गत यसअघि वडा न-२ मा बाख्रा तथा वडा नं-३ मा बाजा वितरण गरेको थियो । अन्य वडामा पनि आयमुलक तथा चेतनामुलक कार्यक्रमहरु भइरहेको नगरपालिकाले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस