बाढी र पहिरोका कारण देशका १४ वटा सडक खण्ड ठप्प

नौलो समाचार संवाददाता
२०७८ अषाढ १८, शुक्रबार मा प्रकाशित १०१५ पटक पढिएको
बाढी र पहिरोका कारण देशका १४ वटा सडक खण्ड ठप्प

असार १८, काठमाण्डौ। बाढी र पहिरोका कारण देशभरका १४ सडक खण्ड बन्द भएको सडक विभागले जनाएको छ। ४९ सडक खण्ड एकतर्फी रुपमा सञ्चालन भइरहेका छन्। चितवनको नारायणघाट-मुग्लिङ सडक खण्ड अहिले बन्द भएको छ। चारकिलो र पाँचकिलोमा पहिरो खसेकाले बिहानैदेखि सडक खण्ड बन्द भएको प्रहरीले जनाएको छ।

डोजर लगाएर पहिरो हटाउने काम भइरहेको छ। तर, सडकमाथिबाट ढुङ्गा खसिरहेकाले जोखिम बढेको भन्दै प्रहरीले अत्यावश्यक काम नपरि यात्रा नगर्न आग्रह गर्दै आएको छ।

यस्तै पहिरोका कारण मकवानपुरबाट भीमफेदी-कुलेखानी हुँदै काठमाण्डौ आउने सडक पनि बन्द भएको छ ।

यस्तै ठोरी–भरतपुर–मुग्लिङ आबुखैरेनी–गोरखा–घयाम्पेसा र आरुघाट- सिर्दिवास–रोइला भञ्ज्याङ सडक खण्ड पनि खुलेको छैन । यस्तै मनाङको डुम्रे बेसीसहर-चामे सडक खण्ड पनि ठाउँ-ठाउँमा बन्द छ।

मनाङको तिमाङखोला, धारापानी, बगरछाप, रामबजार, अर्खले र च्याम्चेमा कतै पहिरो त कतै कटानका कारण सडकमा नोक्सानी पुगेको छ। यो सडक खण्ड खुल्न समय लाग्ने सडक विभागले जनाएको छ।

यस्तै, अरनिको राजमार्ग अन्तर्गत पर्ने खाडीचौर-कोदारी सडक खण्ड पनि अझै सञ्चालनमा आउन सकेको छैन। गएको असार २ गते बन्द भएको यो सडक खण्ड खुलाउने प्रयास भने भइरहेको छ।


प्रतिक्रिया दिनुहोस