जन्मदिनमा पत्रकार बजगाईद्वारा बृद्धबृद्धा/असहायलाई खाद्यान्न र कपडा सहयोग

नौलो समाचार संवाददाता
२०७८ अषाढ १८, शुक्रबार मा प्रकाशित ७८१ पटक पढिएको
जन्मदिनमा पत्रकार बजगाईद्वारा बृद्धबृद्धा/असहायलाई खाद्यान्न र कपडा सहयोग

असार १८, काभ्रे। काभ्रेली पत्रकार नवराज बजगाईले ‘सेवा घर’का बृद्धबृद्धा र असहायलाई खाद्यान्न र लत्ता कपडाहरु हस्तान्तरण गर्नु भएको छ। आज (शुक्रबार) जन्मदिनको अवसरमा नव क्षितिज साप्ताहिकका प्रकाशक/प्रधान सम्पादक, राम्रो सन्देश डट कमका प्रधान सम्पादक बजगाईले धुलिखेलमा रहेको मानव कल्याण समाज (सेवा घर) को शाखा कार्यालयमा रहेका ३३ जना बृद्धबृद्धा र असाहयलाई खाना खुवाएसंगै खाद्यान्न र लत्ता कपडाहरु सहयोग गर्नुभएको हो।

कोभिड–१९ का कारण सबै क्षेत्र मारमा परेकाले यस्ता सेवा घरहरुमा आउने सहयोगी पनि कम हुने हुदाँ यहाँ रहेकाहरुमा समस्या नहोस भनेर थोरै भएपनि सहयोग गरेको पत्रकार बजगाईले बताउनुभयो। यो देखेर अन्य सहयोगीहरु आउन सक्छन भन्दै आफुले प्रत्येक जन्मोत्सव र एनिभर्सरी यसरी नै सामाजिक कार्य गरी मनाउने गरेको बजगाईको भनाइ छ।

आफुलाई जन्मदिने बुबा आमा नभएपनि सेवा घरमा रहेका बृद्धबृद्धालाई भेट्दा बुबा आमाको न्यास्रो मेटिनुका साथै मातृ प्रेमको आभास मिल्ने गरेको उहाँको भनाइ थियो । असहायको साथ र बृद्धबृद्धालाई सम्मान गर्दा उनिहरुको मार्गदर्शनले जीवनलाई सहि निर्देश गर्ने भएकाले मन्दिर गएर पूजा गर्नु भन्दा आश्रममा रहेकाहरुलाई सहयोग गर्दा बढी धर्म र कर्तव्य निर्वाह हुने हुदाँ आफुले सकेको सहयोग जारी राख्ने बजगाईले बताउनुभयो।

उहाँले सेवा घरकी अभियान्ता सुस्मिता श्रेष्ठलाई चामल २ बोरा, आटा, दाल, तेल, नुन, जिरा मसला, चिनी, चियापती, गेडागुडी, चिउरा, मस्यौरा, साबुन, डेटोल, फलफुल, जुस, एक बाकस बिस्कुटसहित खाद्यान्न र लत्ता कपडाहरु हस्तान्तरण गर्नुभएको छ। सामग्री बुझ्दै सेवा घरकी अभियान्ता सुस्मिता श्रेष्ठले बिपदको बेलापनि सहयोग गरेकोमा खुशी व्यक्त गर्दै सबैको सहयोग कै कारण सेवा घर अघि बढीरहेको उल्लेख गर्नुभयो।

सार्वजनिक स्थलहरुमा कष्टकर जीवन बिताउन बाध्य पिडितहरुको सेवाको लागि गत वर्षदेखि मानव कल्याण समाजको शाखा कार्यालय घुलिखेलमा खुलेको मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईले जानकारी दिनुभयो। जहाँ सडक पेटी तथा सार्वजनिक स्थलमा कष्टकर जिवन बिताउन बाध्य भएकालाई उद्धार गरी व्यवस्थापन गरिने छ।


प्रतिक्रिया दिनुहोस