साउन २, काठमाडौं। अबको तीन दिन मनसुन थप सक्रिय हुने मौसमविद्ले बताएका छन्। भारतमा बनेको न्यूनचापीय रेखा पूर्वबाट प्रवेश गरेर देशभर फैलिएकाले आजदेखि ५ गतेसम्म मनसुन थप सक्रिय हुने मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । उहाँका अनुसार यो अवधिमा केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना छ।
आज विशेषगरी सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वाग्मती, प्रदेश-२ र प्रदेश-१ का थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। अरु ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । अहिले कास्की, स्याङ्जा लगायतका ठाउँमा ठूलो पानी परिरहेको छ।
भोलि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, तथा प्रदेश-१ का थोरै ठाउँमा ठूलो पानी पर्ने र पर्सि प्रदेश-१, प्रदेश-२, वाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा भारी वर्षाको सम्भावना छ। भने अरु ठाउँको मौसम बद्ली भएर हल्कादेखि मध्यमखालको पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।
यसैबीच आजदेखि तीन दिनसम्म केही नदी तथा खोलामा बाढीको जोखिम भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस