कोभिसिल्डको दोस्रो मात्रा २५ गतेबाट लगाईने, जापान र भुटानबाट ११ लाख डोज खोप आउदै

नौलो समाचार संवाददाता
२०७८ श्रावण २३, शनिबार मा प्रकाशित ६८३ पटक पढिएको
कोभिसिल्डको दोस्रो मात्रा २५ गतेबाट लगाईने, जापान र भुटानबाट ११ लाख डोज खोप आउदै

साउन २३, काठमाडौँ। कोभिसिल्ड खोपको दोस्रो डोज २५ गते सोमबारबाट लगाउन सुरु गरिने भएको छ। हिजो भुटानबाट ३ लाख डोज एस्ट्राजेनेकाको खोप काठमाडौँ ल्याइएको तथा आज र भोलि जापानबाट ८ लाख डोज एस्ट्राजेनेकाकै खोप आउने भएकाले पर्सि २५ गते देखि दोस्रो डोजको खोप अभियान सुरु गर्न लागिएको हो।

पहिलो मात्रा लगाएको १२ हप्तापछि दोस्रो मात्रा लगाउनुपर्ने भनिए पनि भारतले सम्झौताअनुसार १० लाख डोज खोप नदिएपछि कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका नागरिक दोस्रो मात्रा लगाउनबाट वञ्चित हुँदै आएका छन् ।

यसअघि कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेका नागरिकलाई यो खोप दिइने खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार पर्सि सोमवारदेखि वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई खोप लगाइनेछ ।

प्रदेश-१ र प्रदेश-२ मा केही दिन ढिला हुने भए पनि यो महिनाभित्र सुरु भइसक्ने पनि उहाँले जानकारी दिनुभयो । गएको फागुन तेस्रो हप्ता ६५ वर्षमाथिका झण्डै १४ लाख नागरिकले कोभिसिल्डको पहिलो मात्रा लगाएका थिए ।

जापान सरकारले नेपाल सरकारलाई उपलब्ध गराउने खोपको पहिलो खेप आज काठमाडौँ ल्याउन लागिएको हो ।

जापानले दिन लागेको १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये आज र भोलिमा ८ लाख डोज खोप काठमाडौँ आइपुग्ने खोप शाखा प्रमुख गौतमले जानकारी दिनुभयो । उहाँकाअनुसार जापानले उपलब्ध गराउने बाँकी ८ लाख खोप पनि यो महिनाभरि ल्याउने तयारी छ ।


प्रतिक्रिया दिनुहोस