नमोबुद्धका जेष्ठ नागरिकलाई घरघरमै खोप सेवा, आइसोलेसनमा संक्रमित बिरामीको चाप बढ्यो

नौलो समाचार संवाददाता
२०७८ श्रावण २५, सोमबार मा प्रकाशित ३९१ पटक पढिएको
नमोबुद्धका जेष्ठ नागरिकलाई घरघरमै खोप सेवा, आइसोलेसनमा संक्रमित बिरामीको चाप बढ्यो

साउन २५, काभ्रे। नमोबुद्ध नगरपालिकाले खोप केन्द्रसम्म पुग्न नसक्ने जेष्ठ नागरिकका लागि घरघरमै पुगेर कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गरेको छ।
आजदेखि सुरु भएको कोभिड-१९ (कोरोना) विरुद्धको कोभिशिल्डको दोस्रो मात्रा खोप लगाउने अभियानको क्रममा खोप केन्द्रसम्म पुग्न नसक्ने जेष्ठ नागरिकका लागि स्वास्थ्यकर्मीको टोली घरघरमै पुगेर खोप लगाइएको हो ।

नगर प्रमुख टिपी शर्मा तिमल्सिना स्वास्थ्यकर्मी लिएर आफैं जेष्ठ नागरिकको घरघरमा पुग्नुभएको छ। खोप केन्द्रसम्म पुग्न नसक्ने ८५ बर्षदेखि १०२ बर्षसम्मका जेष्ठ नागरिकलाई घरमै पुगेर खोप लगाउने व्यवस्था गरिएको नगर प्रमुख तिमल्सिनाले बताउनुभयो। नमोबुद्ध ८ का १ सय २ बर्षका अमन्तीनाथ हुमागाईंले पनि कोभिशिल्डको दोस्रो मात्रा खोप लगाउनुभएको छ। स्वास्थ्यकर्मीले खोप लगाइदिएपछि हुमागाईंसहितका जेष्ठ नागरिकहरुलाई नगर प्रमुख तिमल्सिनाले खोप कार्ड हस्तान्तरण गर्नुभएको थियो।

नमोबुद्ध नगरपालिकामा गत फागुन २३ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको खोप अभियानको क्रममा पहिलो मात्रा कोभिशिल्डको खोप लगाउने ६५ बर्षमाथिका व्यक्तिाके संख्या १ हजार ७ सय ७ रहेको छ । भोलीसम्म सञ्चालन हुने खोप अभियानको क्रममा नगरका ११ वटै वडामा केन्द्र तोकिएको छ । खोप अभियान लिएर नगरबासीको घरघरमा पुग्नुभएका नगर प्रमुख तिमल्सिनाले जेष्ठ नागरिकहरुको स्वास्थ्य अवस्था बुझ्दै उनीहरुलाई मास्क, सेनिटाइजर, च्यावनप्रास लगायतका सामग्रीसमेत वितरण गर्नुभएको छ।

आइसोलेसनमा बिरामीको चाप बढ्यो, नगर प्रमुखद्वारा आइसोलेसन केन्द्रको अनुगमन
पछिल्लो समय कोभिड-१९ बाट संक्रमित हुनेहरुको संख्या बढ्न थालेसँगै नमोबुद्ध नगरपालिका वडा नं. ४ मा स्थापना गरिएको आइसोलेसन सेन्टरमा चाप बढेको छ । पछिल्लो एक सातामा आइसोलेसन केन्द्रमा लक्षणसहितका बिरामीको चाप ह्वात्तै बढेको हो ।

नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाद्वारा संयुक्त रुपमा सञ्चालित आइसोलेसन केन्द्रमा हाल १४ जना कोभिड १९ का बिरामी रहेको केन्द्रकी इन्चार्ज मथुरा सत्यालले जानकारी दिनुभयो। १४ जनामध्ये नमोबुद्ध नगरपालिकाका १० जना र रोशी गाउँपालिकाका ४ जना रहेका छन् । केन्द्रमा रहेकामध्ये ५ जनालाई अक्सिजन सपोर्टमा राखिएको छ भने अन्यमा ज्वरोसहितको लक्षण देखिएको छ ।

नमोबुद्ध नगरपालिकामा आइतबारसम्मको तथ्यांकअनुसार सक्रिय संक्रमितको संख्या ७६ रहेको छ। उक्त आइसोलेसन केन्द्रमा हालसम्म १ सय ४१ जना कोभिड १९ का बिरामी भर्ना भइसकेका छन् । आजै नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले आइसोलेसन केन्द्रको अनुगमन गर्दै आइसोलेसनमा भर्ना भएका बिरामीहरुको स्वास्थ्य अवस्था, केन्द्रको व्यवस्थापन लगायतका विषयमा जानकारी लिनुभएको छ।


प्रतिक्रिया दिनुहोस