लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

नौलो समाचार संवाददाता
२०७८ श्रावण २८, बिहिबार मा प्रकाशित ३५० पटक पढिएको
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

साउन २८, काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा कुल प्रसाद केसी नियुक्त हुनुभएको छ ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहनुभएका नेता केसी मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार उहाँलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । यसअघि, लुम्बिनी प्रदेश सरकारमा दाबी गर्दै चार दलीय गठबन्धनले ४२ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको थियो ।

गठबन्धनमा हृदयश त्रिपाठी समूहमा रहेका अजय शाही समेत मिसिएका छन् । उनले पनि केसीलाई समर्थन गर्दै हस्ताक्षर गरेका छन् ।

सूर्य चुनाव चिह्न लिएर चुनाव जितेका त्रिपाठी केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री थिए । मुख्यमन्त्री केसीले आजै शपथ ग्रहण गरेर सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गर्नुभएको छ ।

अल्पमतमा परेपछि एमाले नेता शंकर पोखरेलले बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस