मालपोत कार्यालय काभ्रेले हप्तामा दुई दिन मात्र सेवा दिने

नौलो समाचार संवाददाता
२०७८ श्रावण २९, शुक्रबार मा प्रकाशित १५२६ पटक पढिएको
मालपोत कार्यालय काभ्रेले हप्तामा दुई दिन मात्र सेवा दिने

साउन २९, काभ्रे। काभ्रेको मालपोत कार्यालयले पनि बार अनुसार सेवा दिने भएको छ। आज (शुक्रबार) एक सूचना जारी गर्दै कार्यालयले जिल्लाका विभिन्न पालिकाहरुका लागी बार तोकेर सेवा प्रवाह गर्ने जनाएको हो।

जिल्लाका ६ वटा नगरपालिकाका सेवाग्राहीलाई हप्तामा २ दिन मात्र सेवा दिने सूचनामा जनाईएको छ। यहि साउन ३१ गतेबाट यो नियम लागू हुनेछ।

मालपोत कार्यालयका अनुसार बनेपा र नमोबुद्ध नगरपालिकालाई आइतबार र बुधबार, धुलिखेल र मण्डनदेउपुर नगरपालिकालाई सोमबार र बिहीबार र पाँचखाल र पनौती नगरपालिकालाई मंगलबार र शुक्रबार कार्यालयबाट सेवा प्रवाह गरिने जनाईएको छ।

तोकिएको दिन बाहेक अन्य दिनमा गएमा काम नहुने पनि सूचनामा स्पष्ट पारिएको छ।

गाउँपालिकाहरुको हकमा भने यो नियम लागू हुने छैन। गाउँपालिकाहरुका सेवाग्राहीका लागि हरेक दिन सेवा दिईने सूचनामा उल्लेख गरिएको छ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कार्यालयले सेवा लिन आउदा मास्क लगाई पूर्ण रुपमा स्वास्थ्यका मापदण्ड पालना गर्न मालपोत कार्यालय काभ्रेले अनुरोध गरेको छ।

मालपोत कार्यालय काभ्रेद्वारा जारी गरिएको सूचना:-


प्रतिक्रिया दिनुहोस