तातोपानी नाकाबाट व्यापार सहज बनाउन माग

नौलो समाचार संवाददाता
२०७८ श्रावण ३०, शनिबार मा प्रकाशित ८२६ पटक पढिएको
तातोपानी नाकाबाट व्यापार सहज बनाउन माग

साउन ३०, काठमाडौं। चीनसँगको सीमा जोडिएको तातोपानी नाकाबाट व्यापार सहज बनाउन व्यवसायीले सरकारसँग माग गरेका छन् । भूकम्पपछि यो नाका अस्थिर रुपले सञ्चालन हुँदै आएको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घ र नेपाल हिमालय सीमापार वाणिज्य सङ्घले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै नाका पूर्ण रुपले सञ्चालनमा ल्याउनुपर्ने माग राखेका हुन् ।

सङ्कटग्रस्त क्षेत्र सिन्धुपाल्चोकमा आइपरेका अनेकौँ विपद्ले निकै समस्या रहेको र नाका सञ्चालन नहुँदा व्यवसायी लगायतलाई समस्या परेको भन्दै दुबै सङ्घले नेपाल चीनबीचको व्यापारिक कारोवार अगाडि बढाउन पहल गरिदिन प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्रमार्फत आग्रह गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको ज्ञापन पत्रमा राजस्व सङ्कलनमा उल्लेख्य योगदान गर्ने नाका पूर्णरुपले सञ्चालन हुनुपर्ने माग राखिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष वेदबहादुर श्रेष्ठले बताउनुभयो।

नाका अस्थिर हुँदा सयौँको रोजीरोटी गुमेको छ । नाकाबाट कारोवार बन्द हुँदा त्यहाँ काम गर्ने मजदूर अहिले विचल्लीमा परेकाले पूर्णरुपले नाका सञ्चालन हुनुपर्ने नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोककुमार श्रेष्ठको भनाइ छ । नाका सञ्चालनका साथै विपद् न्यूनीकरणका लागि पहल गरिदिन सङ्घले प्रधानमन्त्री देउवालाई अनुरोध समेत गरेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस