पनौतीको १२ वटै वडामा विद्यार्थीलाई कोरोना विरुद्धको खोप दिईने

नौलो समाचार संवाददाता
२०७८ भाद्र ६, आईतबार मा प्रकाशित ७०४ पटक पढिएको
पनौतीको १२ वटै वडामा विद्यार्थीलाई कोरोना विरुद्धको खोप दिईने

भदौ ६, काभ्रे। पनौती नगरपालिकाको १२ वटै वडामा विद्यार्थीलाई कोरोना विरुद्धको खोप दिईने भएको छ।  पनौती नगरपालिकाको स्वास्थ्य शाखाद्वारा जारी सूचनामा यहि भदौ ८ गते मंगलबार नगरपालिकाको सम्पूर्ण वडाका विभिन्न खोप केन्द्रमा भेरोसेलको पहिलो र दोश्रो मात्रा लगाईने उल्लेख गरिएको छ।

नगरपालिका भित्रका विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का १८ वर्ष उमेर पुगेका विद्यार्थीहरुलाई भेरोसेलको खोपको पहिलो मात्रा लगाउन लागिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले जानकारी दिनुभयो।

यसैगरी, २०७८ साउन १५ / १६ गते भेरोसेलको पहिलो मात्रा लगाएका कम्तिमा २१ दिन पुगेका नगरबासीहरुलाई भेरोसेलको दोश्रो मात्रा खोप लगाउन पनौती नगरपालिका स्वास्थ्य शाखाले अनुरोध गरेको छ।

खोप लगाउने समय बिहान १०:३० देखि दिउसो ३:३० बजेसम्म तोकिएको छ।

कक्षा ११ र १२ का परिक्षार्थि विद्यार्थीहरुले उमेर खुल्ने कागजात र विद्यालयको परिचय पत्र वा प्रवेश पत्र अनिवार्य साथमा लिएर आउन भनिएको छ।

भेरोसेलको दोश्रो मात्राको खोप लगाउने नगरबासीले अनिवार्य रुपमा पहिलो मात्रा खोप लगाएको खोप कार्ड साथमा ल्याउन सूचनामा अनुरोध गरिएको छ। साथै खोप लगाउन जादा अनिवार्य मास्क लगाई स्वास्थ्य मापदण्डको पालना गर्न पनि पनौती नगरपालिका स्वास्थ्य शाखाले अनुरोध गरेको छ।

पनौती नगरपालिका स्वास्थ्य शाखाद्वारा जारी सूचना :-


प्रतिक्रिया दिनुहोस