पनौती वडा नम्बर ९ मा राष्ट्रिय परिचय पत्रको तथ्यांक संकलन कार्य अबरुद्ध

नौलो समाचार संवाददाता
२०७८ भाद्र ७, सोमबार मा प्रकाशित १५१२ पटक पढिएको
पनौती वडा नम्बर ९ मा राष्ट्रिय परिचय पत्रको तथ्यांक संकलन कार्य अबरुद्ध

भदौ ७, काभ्रे। पनौती नगरपालिका वडा नम्बर ९ मा जारी राष्ट्रिय परिचय पत्रको तथ्यांक संकलन कार्य अबरुद्ध भएको छ। वडा नम्बर ९ का अध्यक्ष शहकुल कुमार हुमागाईंद्वारा जारी सूचनामा यहि भदौ २ गतेबाट जारी तथ्यांक संकलन कार्य भोलि ८ गतेबाट स्थगित गरिएको उल्लेख छ।

तथ्यांक संकलन कार्यका लागी पर्याप्त जनशक्ति नहुदा कार्यक्रम स्थगित गर्नुपरेको वडा अध्यक्ष हुमागाईंले बताउनुभयो । नागरिकका व्यक्तिगत र  बायोमेट्रिक (जैविक) विवरणहरू कम्प्युटरमा राख्न लागी २ जना मात्र प्राविधिक कर्मचारी जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको छ। उहाँले, ‘कम जनसंख्या भएका गाउँ र टोल छानेर ३ दिन जसो-तसो काम गर्यौ, फोटो खिच्ने, दश औठाछाप, आँखाको रेटिना, विवरण कम्प्युटरमा भर्ने काम गर्न समय लाग्ने र नागरीकहरु चाप धेरै हुन थालेपछि कोरोना संक्रमणका बिषयलाई पनि ध्यान दिदै तथ्यांक संकलन स्थगित गरेको हो।’

वडा नम्बर ९ मा राष्ट्रिय परिचय पत्रको तथ्यांक संकलन कार्यका लागी ३ हजार ३०० जना योग्य छन्। यसका लागी २ जना प्राविधिक र एक जना सहयोगी मात्र छन्।

४ जना प्रविधि कर्मचारी र २ जना सहयोगी नभएसम्म कार्यालयले तोकेको समयमा तथ्यांक संकलन कार्य सम्पन्न गर्न नसकिने वडा अध्यक्ष हुमागाईंले बताउनुभयो। ३ दिनमा जम्मा २६२ जनाको मात्र तथ्यांक संकलन गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले पर्याप्त कर्मचारी उपलब्ध गराएपछी कार्यक्रम फेरी सुरु गरिने उहाँले जानकारी दिनुभयो।

के हो राष्ट्रिय परिचय पत्र ?

राष्ट्रिय परिचय पत्रलाई अन्तराट्रिय मापदण्डको डिजिटल कार्ड मानिन्छ। राष्ट्रिय परिचय पत्रमा बाहकको दश औठाछाप अंकित व्यक्तिको पहिचान समेटिन्छ । चिप सहितको कार्डमा प्रिन्ट हुने यसमा बैयक्तिक र जैविक विवरण समेटिने छ ।

सुरक्षा चिप्स सहितको परिचयपत्रले नागरिकका व्यक्तिगत र  बायोमेट्रिक (जैविक) विवरणहरूमा तत्काल पहुँच दिने बाहेक नेपाली, गैरआवासीय नेपाली र विदेशीको वर्गीकरणमा पनि मद्दत पुर्‍याउने बताइन्छ।

एउटै डिजिटल कार्डमा नागरिकका सबैखाले विवरण समावेश गरिने भएकाले नागरिकता,लाइसेन्स,फोटो सहितको मतदाता परिचय पत्र र जग्गाधनी पुर्जा जस्ता सामग्री बोकेर हिड्ने झण्झट हुँदैन । राष्ट्रिय परिचय पत्रमा व्यक्तिको जन्मदेखि मृत्युसम्म दर्ता हुने व्यक्तिगत घटनाको विवरण पनि समावेश हुन्छ ।


प्रतिक्रिया दिनुहोस