हट्यो काठमाडौं उपत्यकाको निषेधाज्ञा, सिनेमा हल सहित सबै व्यवसाय खुल्ने

नौलो समाचार संवाददाता
२०७८ भाद्र १६, बुधबार मा प्रकाशित ९२३ पटक पढिएको
हट्यो काठमाडौं उपत्यकाको निषेधाज्ञा, सिनेमा हल सहित सबै व्यवसाय खुल्ने

भदौ १६, काठमाडौं। कोरोना संक्रमण दर कम भएसँगै काठमाडौं उपत्यकामा निषेधाज्ञा हटाइएको छ। कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि लगाइएको निषेधाज्ञा करिब पाँच महिनापछि हटाइएको हो।

कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’का लागि भनेर काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाका क्रममा सञ्चालन गर्न रोक लगाइएका सबै व्यवसायहरु अब सञ्चालन गर्न पाइने भएको हो।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारको आज बुधबार बसेको बैठकले स्वास्थ्य मापदण्ड अपनाउने गरी बिहीबारदेखि निषेधाज्ञा हटाउने निर्णय गरेका हुन् । पछिल्लो समय काठमाडौं उपत्यकाको संक्रमणदर हेरेर सबैजसो क्षेत्र खुलाउने निर्णय गरेको बैठकपछि जारी आदेशमा उल्लेख छ।

बिहीबारदेखि मध्यरातसम्मका लागि पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, स्वीमिङ पुल, मनोरञ्जल स्थलजस्ता सबै प्रकारका व्यवसाय सञ्चालनमा गर्न दिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिनुभयो।

कोरोना भाइरस संक्रमणको दोस्रो लहर शुरु भएपछि गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो। असार दोस्रो सातादेखि निषेधाज्ञा क्रमश खुकुलो बनाउँदै लगिएपनि केही व्यवसाय सञ्चालनमा भने रोक लगाइएको थियो।


प्रतिक्रिया दिनुहोस