कोरोनाले रोकिएको जनगणना कार्य अगाडि बढाउने तयारी, सरकारसँग २ अर्ब बजेट माग

नौलो समाचार संवाददाता
२०७८ भाद्र २१, सोमबार मा प्रकाशित ४२८ पटक पढिएको
कोरोनाले रोकिएको जनगणना कार्य अगाडि बढाउने तयारी, सरकारसँग २ अर्ब बजेट माग

भदौ २१, काठमाडाैं। कोभिड महामारीका कारण नेपाल सरकारले स्थगित गरेको जनगणनाको कार्य फेरि शुरू हुने भएको छ ।

केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार स्थगित रहेको जनगणनाको कार्यलाई अगाडि बढाउनका लागि विभाग तयारी अवस्थामा छ।

गत वर्ष नै तयारी थालेर गणना शुरू गर्ने र २०७८ असार महिनामा गणना गरिसक्ने कार्यसूची अनुसार काम थालिएको थियो। तर कोभिड महामारीका कारण २०७८ वैशाख १९ गते बसेको मन्त्रिपरिषद् बैठकले जनगणनासम्बन्धी सबै काम स्थगित गरिएको थियो ।

सरकारले आगामी सातासम्म जनगणनाको स्थगित काम सुचारु गर्नका लागि निर्णय गर्ने केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिनुभयो।

जनगणनाको काम स्थगित भएपछि विभागले १ अर्ब ६० करोड रुपैयाँ बजेट गत वर्ष सरकारलाई फिर्ता गरेको थियो।

अब यो वर्ष जनगणनाको बाँकी काम पूरा गर्नका लागि २ अर्ब रुपैयाँ चाहिएको र त्यो रकम सरकारसँग माग गरिसकेको श्रेष्ठले बताउनुभयो।

गत वर्ष विनियोजित बजेटमध्ये जनगणनाका लागि आवश्यक पर्ने सामग्रीहरू गत वर्ष नै खरिद गरेर जिल्लास्थित जनगणनाको कार्यालयमा पठाइसकिएको छ।

प्रत्येक गणक र सुपरिवेक्षकलाई दिनुपर्ने झोला, टोपी, टर्चलाइट, डटपेन, मार्कर, मास्क, स्यानिटाइजर, फेस शिल्ड, विभिन्न प्रश्नावली देखि निर्देशिका सम्मका सामग्रीहरू किनेर जिल्ला जिल्लामा पठाइसकिएको विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताउनुभयो।

विभागले सातवटै प्रदेशमा प्रदेश स्तरीय र जिल्ला समेत गरेर ८७ वटा जिल्ला तथा प्रदेश जनगणना कार्यालय स्थापना गरेको छ।

त्यसैगरी ३४९ वटा स्थानीय स्तरमा समेत कार्यालय स्थापना गरेर सञ्चालन गरिएको छ।

त्यसैगरी जनगणनाको कार्यका लागि जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा जिल्ला सहजीकरण समिति, स्थानीय पालिकाका वडाध्यक्षको संयोजकत्वमा वडा सहजीकरण समिति गठन गरिएको छ ।

गणनाको कामका लागि गणक र सुपरिवेक्षक पदका लागि विज्ञापन आह्वान गर्दा २ लाख जति आवेदन परेको थियो। त्यसमध्ये ८ हजार ५ सय जनालाई २ महिनाका लागि सुपरिवेक्षक समेत नियुक्त गरिएको थियो।

सातदिने तालिममध्ये ५ दिने तालिम समेत ती सुपरिवेक्षकलाई दिइसकिएको अवस्थामा जनगणनाको काम स्थगित भएको थियो।

३९ हजार गणक भने हालसम्म छनोट गरिएको छैन। त्यही आवेदन दिनेहरूमध्येबाट ३९ हजार गणक छनोट गरी उनीहरूलाई पनि तालिम दिएर गणनाको काम शुरू गरिने उनले बताउनुभयो।

अनुमानित ७० लाख घरपरिवारमा पुगेर करीब ३ करोड जनसंख्याको गणना गरिनेछ ।


प्रतिक्रिया दिनुहोस