सत्ता साझेदार दलका ३ विद्यार्थी संगठन एमसीसीको विपक्षमा, प्रतिकारको चेतावनी

नौलो समाचार संवाददाता
२०७८ भाद्र २२, मंगलबार मा प्रकाशित ७२२ पटक पढिएको
सत्ता साझेदार दलका ३ विद्यार्थी संगठन एमसीसीको विपक्षमा, प्रतिकारको चेतावनी

भदौ २२,काठमाडाैं। सत्ता साझेदार दलका तीन विद्यार्थी संगठन एमसीसीको विपक्षमा देखिएको छ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू र जनमोर्चा निकट अखिल छैटौँ एमसीसीको विपक्षमा उभिएको हो ।

तीन विद्यार्थी संगठनले सोमबार संयुक्त वक्तव्य जारी गर्दै सरकारले अमेरिकी परियोजना एमसीसी पास गर्ने तयारी गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । ‘एमसीसी सम्झौतामा राष्ट्रहित विपरीत, देशको सार्वभौमसत्तामाथि प्रश्न उठाउने कैयौं प्रावधानहरु रहेका छन् ।

अमेरिकी सरकारी अधिकारीहरुले एमसीसी परियोजना इण्डोप्यासिफिक रणनीतिको अङ्ग हो भनेर बारम्बार अभिव्यक्तिहरु दिएका छन् । एमसीसीका पारित गर्न दबाब दिनको लागि एमसीसीका उच्च पदाधिकारीहरु नेपालमा आउने समाचार प्रकाशित भएका छन् ।

नेपालका राजनीतिक शक्तिमाथि विभिन्न दबाब दिएर एमसीसी नेपालमाथि जबर्जस्ती लाद्ने प्रयत्न भएको छ । कुनै पनि विदेशी सहयोगहरु जबर्जस्ती लादिने विषय होइनन् भन्ने हाम्रो प्रष्ट मान्यता रहेको छ’, विज्ञप्तिमा भनिएको छ ।

एमसीसीमा रहेका राष्ट्रहित विपरीतका सम्पूर्ण प्रावधानहरु खारेज गर्न माग विज्ञप्तिमार्फत जोडदार माग गरिएको छ । जोरजबर्जस्तीपूर्ण ढंगले एमसीसी परियोजना अगाडि नबढाउन चेतावनी दिँदै विद्यार्थी संगठनले त्यसरी अगाडि बढाइएमा कडा प्रतिकार गर्ने र संघर्षलाई अगाडि बढाउने स्पष्ट गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस