लाइसेन्सका लागि तत्काल फारम नखुल्ने, झन्डै ६ लाख सेवाग्राहीले परीक्षा दिन बाँकी

नौलो समाचार संवाददाता
२०७८ भाद्र २३, बुधबार मा प्रकाशित ३४५ पटक पढिएको
लाइसेन्सका लागि तत्काल फारम नखुल्ने, झन्डै ६ लाख सेवाग्राहीले परीक्षा दिन बाँकी

भदौ २३, काठमाडौं। यातायात व्यवस्था विभागले चालक अनुमति पत्र (लाइसेन्स) का लागि तत्काल फारम नखुलाउने भएको छ। यसअघि फारम भरेका झन्डै ६ लाख सेवाग्राही परीक्षामा सहभागी हुन पाएका छैनन् । ती परीक्षार्थीको परीक्षा नसकिएसम्म विभागले नयाँ फारम नखुलाउने भएको हो।

फारम भरेका झन्डै आधा परीक्षार्थी परीक्षामा सहभागी भएपछि मात्रै फारम खुलाइने विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिनुभयो। फारम भरेका सेवाग्राहीले परीक्षामा सहभागी हुन पाएका छैनन् भने परीक्षामा पास भएका झन्डै सात लाखले अझै ‘स्मार्ट’ चालक अनुमति पत्र पाउन बाँकी छ । विभागले अनुमति पत्रका लागि कार्ड खरिद गरे पनि प्राविधिक समस्याका कारण कार्ड आइसकेको छैन । अहिले विभागसँग झन्डै २ हजार कार्ड मात्रै बाँकी रहेको उहाँले बताउनुभयो ।

विभागले मिसनमा जाने सुरक्षाकर्मी र चालकका रूपमा रोजगारीमा जानेका लागि मात्रै अनुमति पत्र दिने गरेको छ। केही महिनाभित्रमा कार्ड नआएमा अत्यावश्यक कामका लागि समेत अनुमति पत्र दिन गाह्रो पर्नसक्ने विभागका प्रवक्ता डा. भुसालले बताउनुभयो।

अस्थायी प्रकृतिको अनुमति पत्र वितरण

परीक्षा पास भएको लामो समयसम्म पनि सेवाग्राहीले अनुमति पत्र नपाएपछि अहिले यातायात कार्यालयले अस्थायी प्रकृतिको अनुमति पत्र वितरण सुरुवात गरेको छ। कोरोना नियन्त्रणका लागि केही समय पहिलेसम्म निषेधाज्ञा भएकामा त्यो हटेसँगै यातायात कार्यालयले परीक्षा पास गरेकालाई परीक्षणकालीन अनुमति पत्र दिन थालेका हुन् । यो अनुमति पत्र कार्यालयले आफैँ छापेर एक वर्षका लागि दिने गरेको प्रवक्ता डा. भुसालले बताउनुभयो । यसका लागि विभागले प्राविधिकलाई तालिम दिएको छ भने प्रदेश सरकारअन्तर्गतका कार्यालयले छाप्ने उपकरण (प्रिन्टर) किनेको छ।

विभागले गएकाे १० गते गरेको निर्णयका आधारमा कार्यालयले आवेदन दिएका सेवाग्राहीको परीक्षा सञ्चालन गरिरहेका छन् । काठमाण्डाै उपत्यकामा रहेका चार वटै कार्यालयले सेवा सुरु गरिसकेका छन् । उपत्यकाबाहिरका कतिपय जिल्लाले सुरु गरिसकेका छन् भने केहीले सुरु गर्दैछन् ।

परीक्षणकालीन चालक अनुमति पत्रको व्यवस्था सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा गरिएको छ । ऐनमा भएको व्यवस्था लामो समयसम्म कार्यान्वयन हुन नसकेकामा अहिले भइरहेको छ । सेवाग्राहीलाई उसले पाउने सङ्केत नम्बर (क्यूआर) नम्बरसहितको अनुमति पत्र दिइएको हो । यसले गर्दा सेवाग्राहीले परीक्षा पास गरेको लामो समयसम्म भौचर लिएर हिँड्नुपर्ने बाध्यता हट्ने उहाँले बताउनुभयो ।

विभागले खरिद गरेको कार्ड आपूर्तिमा ढिलाइ भइरहँदा सेवाग्राही हैरान छन् । फ्रान्सेली कम्पनीले कार्ड ल्याउनुपर्ने भए पनि कार्ड ल्याउनुपर्ने एउटा र प्रणाली अर्को कम्पनीको भएकाले समस्या आएको प्रवक्ता डा. भुसालले बताउनुभयो । दुई कम्पनीलाई एक ठाउँमा राखेर समस्या के हो पत्ता लगाएर समाधान गर्न भनिएको छ ।

‘मास प्रिन्टर’ खरिद गरिएको भारतीय कम्पनीले पनि केही कार्ड पठाएपछि त्यसको स्थायित्व परीक्षण गर्छाैँ भनेको उहाँले बताउनुभयो । कार्ड लगातार छापिँदा कुनै समस्या आउँछ कि आउँदैन हेर्नका लागि कार्ड अहिले भारत पठाइएको छ । राम्रो भयो भने पनि स्वीकार गर्ने र त्यसपछि मात्रै कार्ड आउन थाल्ने प्रवक्ता डा. भुसालले बताउनुभयो । उहाँका अनुसार कार्ड आएपछि दुई/तीन शिफ्टमा छापेर पनि सकेसम्म चाँडो सेवाग्राहीको हातमा अनुमति पत्र पुर्‍याइनेछ ।


प्रतिक्रिया दिनुहोस