आज तीज : काभ्रेका शिवालयमा ब्रतालुको घुईचो

नौलो समाचार संवाददाता
२०७८ भाद्र २४, बिहिबार मा प्रकाशित ४०० पटक पढिएको
आज तीज : काभ्रेका शिवालयमा ब्रतालुको घुईचो

भदौ २४, काभ्रे। आज हरितालिका (तीज) पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

हिजो दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व पर्सि ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । यसवर्ष कोरोना संक्रमण कम हुँदै गएको र निषेधाज्ञा पनि हटेको कारण पोहोरको तुलनामा तीजको रमझम धेरै छ । तर जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न विज्ञले आग्रह गरेका छन् । सकेसम्म घरमै मनाउन र भौतिक दूरी कायम गर्न उनीहरुको आग्रह छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव बर पाउँ भनी कठोर तपस्या गरेको कथामा यो पर्व आधारित रहेको छ। विवाह भएका महिलाहरुले पतिको दिर्घायु र विवाह नभएका युवतीहरुले भविष्यमा असल पति र घरबारको कामना गर्दै निराहार ब्रत बस्ने, भगवान शिवको पूजा आराधना गर्ने र तीजका गीतमा नाचगान गर्ने क्रम दिनभर चलिहरहने छ ।

आज काभ्रेका बनेपाको धनेश्वर, पनौतीको इन्द्रेश्वर, पशुपतिनाथ लगाएत नजिकका शिवालयहरुमा महिला दिदीबहिनीहरुको चहलपहल निकै बढेको छ।

पशुपतिनाथ मन्दिर नखुल्ने

यसैबीच यसवर्ष पनि तीज पर्वका अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिर नखुल्ने भएको छ । पशुपतिनाथ मन्दिर वैशाख पहिलो हप्तादेखि नै बन्द गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम केही कम भएकाले भोलिदेखि मात्र पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्ने पशुपति क्षेत्र विकास कोषको तयारी छ।

आज पशुपतिनाथ मन्दिर बन्द रहे पनि पशुपति क्षेत्रमा भने भक्तजन जान पाउने कोषका सदस्य सचिव डाक्टर मिलनकुमार थापाले बताउनुभयो । पशुपति क्षेत्रमा आउँदा मास्क अनिवार्य लगाउन, भौतिक दूरी कायम गर्न भने कोषले आह्वान गरेको छ । पशुपतिनाथबाहेकका अन्य धेरै मन्दिर खुलेकाले भक्तजनलाई सजिलो भएको छ।


प्रतिक्रिया दिनुहोस