इजरायलमा जाने नेपाली कामदारको भाषा परीक्षा आजदेखि, ११ ठाउँमा परीक्षा केन्द्र

नौलो समाचार संवाददाता
२०७८ भाद्र २८, सोमबार मा प्रकाशित २८८ पटक पढिएको
इजरायलमा जाने नेपाली कामदारको भाषा परीक्षा आजदेखि, ११ ठाउँमा परीक्षा केन्द्र

भदौ २८, काठमाडौं। इजरायलको रोजगारीमा जान चाहने नेपालीहरुको लागि आज भाषा परीक्षा हुँदैछ । भाषा परीक्षाका लागि काठमाडौंमा ११ वटा केन्द्र तोकिएका छन्।

परीक्षा ब्यबस्थित र मर्यादित गर्न सर्वोच्च अदालतले समेत आदेश दिएको छ। इजरायलले नेपालबाट एक हजार कामदार लैजाने तयारी गरे अनुसार आज भाषा परीक्षण हुन लागेको हो। वैदेशिक रोजगारीका लागि नेपाली कामदारको रोजाइमा इजरायल आकर्षक मुलुकमा पर्दछ।

रोजगारीका लागि एक हजराको कोटा भएपनि ७ हजारले परीक्षा दिन लागेका छन् । ११ स्थानका १६ परीक्षा केन्द्रमा सोमबार १ बजे भाषा परीक्षामा ३ हजार ७२७ पुरुष र ३ हजार २८२ महिला रहने विभागले जनाएको छ। परीक्षाका लागि ९ हजारले आवेदन दिएपनि २ हजार बढी आवेदन मापदण्ड नपुगेकोले अस्वीकृत भएका छन्।

भाषा परीक्षा सुरु हुनु ३ घन्टाअघि नै तोकिएको परीक्षा केन्द्रमा पुग्नुपर्नेछ । परीक्षालाई मर्यादित बनाउन सबै केन्द्रमा वैदेशिक रोजगार विभाग बाहेकका विभिन्न निकाय र मन्त्रालयका कर्मचारीलाई केन्द्राध्यक्षका रुपमा खटाइएको छ ।

वैदेशिक रोजगार विभागले सोमबार भाषा परीक्षा गरी २ दिनभित्र कम्युटरको माध्यमबाट परीक्षण गरी नतिजा सार्वजनिक गर्ने भएकाे छ ।

प्रश्नपत्र कम्प्युटर प्रणालीबाट गरिने भएकाले शंका गर्नुपर्ने ठाउँ नभएको निर्देशक कमलप्रसाद ज्ञवालीले बताउनुभयाे । भाषा परीक्षाको नतिजा सार्वजनिक भएकाे १० दिनभित्र अन्तवार्ता गरी अन्तिम नामावली प्रकाशित गरिने भएको छ।

बैदेशिक रोजगारीका क्रममा जापान, कोरिया गइसकेका अधिकांश युवाहरुले फर्म भरेको बुझिएको छ। ८० प्रतिशत भाषा परीक्षा र २० प्रतिशत अन्र्तवार्ता पास गर्नुपर्ने नियम लागु गरिएको छ।


प्रतिक्रिया दिनुहोस