देशभर मौसम बदली, अधिकांश स्थानमा वर्षाको सम्भावना, यस वर्ष मनसुन लम्बिने

नौलो समाचार संवाददाता
२०७८ आश्विन १, शुक्रबार मा प्रकाशित ५०८ पटक पढिएको
देशभर मौसम बदली, अधिकांश स्थानमा वर्षाको सम्भावना, यस वर्ष मनसुन लम्बिने

असोज १, काठमाडौं। भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभावका कारण आज देशभर पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली भई काठमाडौं उपत्यकासहित गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ। बाँकी प्रदेशका थोरै स्थान हल्का पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो पनि देशभर मौमस बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भीषण वर्षा हुने महाशाखाले जनाएको छ।

यस वर्ष मनसुन लम्बिने

यस वर्ष पनि मनसुन लम्बिने भएको छ। सामान्यतया जुन १० तारिखमा सुरू भएर सेप्टेम्बर २३ मा सकिनुपर्ने मनसुन यस वर्ष पनि एक हप्ताभन्दा धेरै समय लम्बिने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुन सकिनुपर्ने समयमा विकास भएको भारतको मध्यप्रदेश आसपासको न्युन चापीय क्षेत्र र स्थानीय वायुको प्रभावको कारण मनसुन लम्बिने संकेत देखिएको मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो। निम्न चापीय क्षेत्र, स्थानीय वायु, जलवायु परिवर्तन लगायत विभिन्न कारणले पछिल्लो केहि वर्षयता मनसुन दुई सातासम्म लम्बिदै आएको छ।

यसवर्ष अघिल्लो वर्षको तुलनामा धेरै पानी परेको मौसमविद् अर्यालले जानकारी दिए। यस वर्ष जुन १० तारिख आसपासमा सुरू भएको मनसुन सुरुमै अत्यधिक सक्रिय भएर भारी तथा अति भारी वर्षा हुँदा मुलुकका विभिन्न स्थानमा बाढी पहिरोले जनधनको ठूलो क्षति पुर्‍याएको छ।


प्रतिक्रिया दिनुहोस