सरकारले खरिद गर्यो १८ वर्ष मुनिका बालबालिकाका लागि ४० लाख मोडेर्ना खोप

नौलो समाचार संवाददाता
२०७८ आश्विन ३, आईतबार मा प्रकाशित ७३७ पटक पढिएको
सरकारले खरिद गर्यो १८ वर्ष मुनिका बालबालिकाका लागि ४० लाख मोडेर्ना खोप

असोज ३, काठमाडौं। सरकारले १८ वर्ष उमेर मुनिका बालबालिकाका लागि लगाउन मिल्ने ४० लाख डोज कोरोना खोप खरिद गरेको छ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाका प्रमुख डा. सागर दाहालले १८ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन मिल्ने ४० लाख डोज मोडेर्ना खोप खरिद गरिएको जानकारी दिनुभयो।

प्रमुख दाहालले अमेरिकी कम्पनी ‘मोडेर्ना’ लाई खरिद सम्झौता गरिएको खोपको पैसा पनि पठाइसकिएको बताउनुभयो। ‘हामीले खोपको पैसा पठाइसकेका छौं। अब उहाँहरूले कहिले खोप पठाउनुहुन्छ त्यो अहिले नै खुलिसकेको छैन,’ उहाँले भन्नुभयो।

सम्झौता गरेअनुसार कम्पनीले सन् २०२१ को अन्तिमसम्म वा २०२२ को पहिलो महिनासम्मा पठाउनसक्ने भनिएको छ। यद्यपि तोकिएको समयभन्दा चाँडो खोप ल्याउनलाई कम्पनीसँग निरन्तर कुराकानी भइरहेको दाहाल बताउनुहुन्छ।

१२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन मिल्ने यो खोप ‘कोभ्याक्स’ अन्तर्गतको ‘कस्ट सेयरिङ’ मार्फत सरकारले ल्याउन लागेको हो। सोही अनुसार नेपालले विश्व बैंकसँगको सहकार्यमा खोपको पैसा पठाइएको दाहालले बताउनुभयो।

साथै सोही उमेर समूहका बालबालिकालाई लगाउन मिल्ने खोप खरिद गर्न ‘फाइजर’ कम्पनीसँग पनि कुराकानी भइरहेको प्रमुख दाहालले जानाकारे दिनुभयो। सरकारले सुरुमा यो १८ वर्ष मुनिका बालबालिकालाई ‘फाइजर’ को खोप दिने भनेको थियो। तर फाइजरसँग खोप खरिद गर्ने कुरा चाँडो टुंगो नलागेपछि अहिले ‘मोडेर्ना’ ल्याउने सम्झौता गरिएको हो।

विज्ञहरूले १८ वर्ष मुनिका बालबालिकालाई छिटो खोप प्रदान गर्न आवाज उठाउँदै आएका छन्। पछिल्लो समय देशभर विद्यालय खोल्ने कार्य सुरु भएको भन्दै १८ वर्ष मुनिका बालबालिका बढी प्रभावित हुने भएकाले पनि ती समूहलाई खोप प्रदान गर्न भनिएको हो।


प्रतिक्रिया दिनुहोस