संखुवासभा हत्याकाण्डमा नयाँ ट्विस्ट: पाँच जनाले अघिल्लो रात बनाएका थिए तेजबहादुरको परिवारलाई मार्ने योजना

नौलो समाचार संवाददाता
२०७८ आश्विन ४, सोमबार मा प्रकाशित ७२६ पटक पढिएको
संखुवासभा हत्याकाण्डमा नयाँ ट्विस्ट: पाँच जनाले अघिल्लो रात बनाएका थिए तेजबहादुरको परिवारलाई मार्ने योजना

असोज ४, काठमाडौं। संखुवासभा हत्याकाण्डको अनुसन्धानमा नयाँ ट्विस्ट आएको छ।

हत्या आरोप लागेका २५ वर्षीय लोकबहादुर कार्कीमाथि अनुसन्धान गर्दै जाँदा योजनावद्ध तरिकाले तेजबहादुर कार्की र उनको परिवारका पाँच जनाको हत्या भएको खुलेको प्रहरीले दाबी गरेको छ।

हत्याकाण्ड संलग्न भएको आरोप लागेका अन्य चार जनालाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ।

प्रहरीले सुरूमा लोकबहादुर एक्लैले बडाबा ५५ वर्षीय तेजबहादुर कार्कीसहित छ जनाको हत्या गरेको बताएको थियो।

मादी नगरपालिका-१ उम्लिङमा भदौ २१ गते बिहानै तेजबहादुरसहित उनकी श्रीमती कमला, आमा पार्वता, बुहारी रञ्जना, नाति दिपेन र नातिनी गोमाको हत्या भएको थियो।

भदौ २७ गते प्रहरीले हत्याको मुख्य आरोपीको रूपमा लोकबहादुरलाई उभ्याएको थियो।

अनुसन्धान गर्दै जाँदा हत्याकाण्डका मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की रहेको पाइएको अनुसन्धानमा संलग्न प्रहरीले दाबी गरे। खड्गबहादुर तेजबहादुरका आफन्त नै पर्छन्।

हत्याकाण्डको सामूहिक संलग्नताको पोल भने बुहारी रञ्जनाको मोबाइलबाट खुलेको प्रहरीको भनाइ छ।

रञ्जनाको मोबाइल फेला परेपछि प्रहरीले लोकबहादुरका १७ वर्षीय भाइलाई दुई दिनअघि पक्राउ गरेको थियो।

उनी पक्राउ परेपछि हत्यामा लोकबहादुरको साथमा अन्य तीन जना पनि संलग्न रहेको प्रहरीले जनाएको हो। घटनामा १७ वर्षीय भाइले सहयोगीको भूमिका निभाएको प्रहरीको भनाइ छ।

सोमबार प्रहरीले लोकबहादुरका बुवा ४९ वर्षीय रणबहादुर, काका नाता पर्ने ४७ वर्षीय खड्गबहादुर र खड्गका छोरा २८ वर्षीय हस्तबहादुरलाई सार्वजनिक गर्दै हत्या योजनावद्ध रूपमै भएको बतायो।

उनीहरूलाई सार्वजनिक गर्दै अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले लोकबहादुर कार्कीको घरमा अघिल्लो दिन राति नै हत्याको योजना बनेको बताए।

‘राति ८ बजे खड्गबहादुरसहित हस्तबहादुर, लोकबहादुर र उनका भाइ बसेर योजना बनाएको अनुसन्धानबाट खुलेको छ,’ अनुसन्धानमा संलग्न संघीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले भने।

भोलिपल्ट तेजबहादुर लोकबहादुरको घरमा खेताला बोलाउन जाँदा मौका छोपेर हत्या गर्ने योजना बनाइएको दाहाल बताउँछन्।

घरपरिवारका अन्य सदस्यले थाहा पाए उनीहरूको पनि हत्या गर्ने योजना बनाइएको दाहालले बताए।

‘यसरी हत्या गर्दा अनुकूल भए तेजबहादुरको घरमा भएको धनमालसमेत लैजाने योजना उनीहरूको थियो भन्ने खुलेको छ,’ दाहालले भने।

तेजबहादुरको घरमा धनमाल सुरक्षित भेटिएको थियो। हत्यापछि संलग्नले ठूलो धनराशी तत्काल नभेटेका कारण लुट्न नभ्याएको प्रहरीको भनाइ छ।

प्रहरीले हत्याकाण्डमा अन्य व्यक्तिको संलग्नतामा मोबाइल, उनीहरूको साबिती बयान र हत्याका बखत लगाइएको लुगा कपडालाई आधार मानेको दाहालले बताए।

२१ गते बिहान तेजबहादुरको पिप्लेस्थित खेतमा खड्गबहादुर, हस्तबहादुर, लोकबहादुर र उनका भाइ खेताला जाने पहिले नै तय भइसकेको थियो।

हत्याको योजनाअनुसार खड्गबहादुर बिहान ५ बजे तेजबहादुरको घरमा पुगेका थिए।

उनले त्यहाँ पुगेर तेजबहादुरलाई भने- लोकबहादुर अल्छी छ घरमै गएर खेताला निश्चित गर्नू।

त्यसपछि तेजबहादुर लोकबहादुरको घर हिँडेका थिए। हिँडेपछि उनलाई आक्रमण गर्ने पूर्वयोजना थियो।

दाहालका अनुसार तेजबहादुर लोकबहादुरको घर जाँदै गरेको देखेपछि खड्गबहादुर र हस्तबहादुर उनको घर पछाडि चिर्पट बोकेर तयारी हालतमा बसेका थिए।

‘तेजबहादुरले लोकबहादुरको घर पुगेर ‘अल्छी अझैसम्म उठेको छैनस्?’ भन्दै कराए,’ दाहाल भन्छन्, ‘त्यसपछि लोकबहादुर उठे। उनका भाइ र बुवा रणबहादुर त्यतिबेला घरमै थिए।’

यसअघि प्रहरीले तेजबहादुर खेताला बोलाउन आउँदा रणबहादुर र भाइ घाँस काट्न निस्केको बताएको थियो। प्रहरीले सार्वजनिक गरेका तथ्य अहिले पनि परस्पर बाझिइरहेका छन्।

तेजबहादुर फर्किएपछि लोकबहादुर दाउराको चिर्पट र अलैंची काट्ने चक्कु बोकेर पछिपछि हिँडेका थिए।

घर पछाडिको गोगनको रूख नजिक पुगेपछि लोकबहादुरले टाउकोमा प्रहार गरेर लडाएका थिए। खड्गबहादुर र हस्तबहादुर दाउराको चिर्पट बोकेर त्यहाँ आइपुगिसकेका थिए।

उनीहरूले तेजबहादुरमाथि चिर्पट प्रहार गरे। हस्तबहादुरले चक्कुले पेटमा प्रहार गरी डिलबाट लडाए। तेजबहादुरलाई बाटोमा घोप्टो पारेर फाले। यसअघि प्रहरीले घटनामा चक्कु प्रहार भएको प्रसंग उल्लेख गरेको थिएन।

प्रहरीका अनुसार घटना हुँदा तेजबहादुर कराएका थिए। ‘लोकेले मार्‍यो, मलाई नमार’ भन्दै गरेको सुनेपछि उनकी श्रीमती कमला र बुहारी रञ्जना तेजबहादुरलाई उद्धार गर्न आएका थिए।

लोकबहादुरले कमलालाई चिर्पटले प्रहार गरेका थिए। कमलाको घाँटीमा हस्तबहादुरले छुरा प्रहार गरेका थिए।

‘बुहारी रञ्जनालाई भाइले ठेलेर खोल्सामा झारेका थिए र खड्गबहादुर, लोकबहादुर र हस्तबहादुरले मिलेर हत्या गरेका थिए,’ दाहाल भन्छन्।

त्यसपछि रणबहादुर र लोकबहादुरका भाइले बुहारी रञ्जनाको शव कमलाको शव भएको ठाउँमा पुर्‍याएका थिए। ‍

घटनाको बेला नाबालक दिपेन र गोमा घर नजिक बाटोमा देखेपछि हस्तबहादुर लोकबहादुरले बाटो छेकेर चिर्पटले हिर्काएको दाहालले बताए।

त्यसपछि पाँचै जना ८४ वर्षीया पार्वता कार्की भएठाउँ पुगेको पनि प्रहरीले बताएको छ। घरभित्र पार्वता मकै नङ्ग्याइरहेकी थिइन्।

उनलाई समातेर हस्तबहादुरले घर पछाडि गोठनजिकै लगेका थिए। त्यसपछि लोकबहादुरले उनको टाउको भित्तामा ठोक्काएर घाँटी बटारी हत्या गरेको प्रहरीले जनाएको छ।

यसअघि पार्वतालाई कुँडो पकाउन आगो फुक्दै गर्दा हत्या गरिएको प्रहरीले बताएको थियो।

हत्यापछि सबैजना घटनामा प्रयोग गरेको चिर्पट र छुरा बोकेर लोकबहादुरको घरमा गएका थिए। लागेको रगत पखालेर छुरा बुइँगलमा लुकाएका थिए। चिर्पटहरू अँगेनामा डढाएका थिए।

‘रगत लागेको कपडा लुकाएका थिए। खड्गबहादुर र उनका छोरा हस्तबहादुर घरतर्फ फर्किएका थिए,’ दाहालले भने।

रञ्जनाको मोबाइल लोकबहादुरका भाइले लिएर स्वीच अफ गरी घरमुनिको ओडारमा लगेर लुकाएको उनले बताए।

‘पुनः खड्गबहादुर र हस्तबहादुर लोकबहादुरको घरमा फर्किएर कसैले सोधेमा घटनाको बारेमा कुनै पनि कुरा नसुनेको र थाहा नपाएको भनी सल्लाह गरेका थिए,’ दाहाल भन्छन्, ‘यदि प्रहरी आएर पत्ता लगाएमा लोकबहादुरले मानसिक औषधी पनि खाने गरेका कारण सबै जिम्मा लिने भन्ने सल्लाह भएको खुलेको छ।’

प्रहरीका अनुसार खड्गबहादुर नियमित रूपमा मदिरा सेवन गर्ने गर्थे। घरमा श्रीमती र परिवारका सदस्यहरूलाई कुटपिट गालीगलौज गर्ने गर्थे।

यो थाहा पाएका तेजबहादुरले ‘तँ जँड्याहा किन यसो गर्छस्’ भनेर गाली गर्ने गर्थे।

खड्गबहादुरले पनि ‘तँलाई के मतलब, तँलाई पनि मार्छु’ भन्दै झगडा गर्ने गरेका थिए।

तेजबहादुर लोकबहादुरलाई ‘तँ पागल, अल्छी, केही काम गर्न सक्दैनस्’ भन्ने गर्थे। रणबहादुरलाई समेत गाली गर्ने गर्थे।

‘जहिले पनि हेप्ने र आफू सम्पन्न भएको फुर्ति दिने गरेकाले मनमा इख पालेको र खेताला बोलाएको दिन मौका छोपेर हत्या गरेको देखिन्छ,’ उनले भने।

छ जनाको हत्या गरे पनि उनीहरूले तेजबहादुरका ९० वर्षीय बुवा बौद्धमान कार्कीलाई छोडेका थिए।

बौद्धमानले राम्रो व्यवहार गर्ने गरेकाले उनलाई सकुशल छोडिएको पक्राउ परेकाहरूले प्रहरीले बताएका छन्।

source: setopati

प्रतिक्रिया दिनुहोस