मंगलबार ७ जिल्लामा काँग्रेस अधिवेशन, काभ्रेमा १३५ वडा सभापति छानिदै

नौलो समाचार संवाददाता
२०७८ आश्विन ४, सोमबार मा प्रकाशित ८२२ पटक पढिएको
मंगलबार ७ जिल्लामा काँग्रेस अधिवेशन, काभ्रेमा १३५ वडा सभापति छानिदै

असोज ४, काभ्रे। नेपाली काँग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये मंगलबार ७ जिल्लामा अधिवेशन हुँदैछ । यही असोज ५ गते काभ्रे, सिन्धुपाल्चोक, काठमाडौँ, बाजुरा, कपिलवस्तु, बर्दिया र मोरङमा वडा अधिवेशन हुन लागेको काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

पार्टीले २० जिल्लाको वडा अधिवेशन यही असोज ५ गते एकै दिन हुने गरी कार्य तालिका निर्धारण गरेको थियो । बाँकी १३ जिल्लाको क्रियाशील सदस्यता विवरण समयमै समितिलाई प्राप्त हुन नसकेका कारण ती जिल्लामा भने वडा अधिवेशन निर्धारित समयमा नहुने देखिएको हो ।

काभ्रेमा १३५ वडा सभापति चयन हुने 

नेपाली काँग्रेस काभ्रे जिल्ला समितिका १९ हजारभन्दा बढी क्रियाशील सदस्यले भोली १३५ वडा सभापति चयन गर्दैछन् । तेह्र स्थानीय तह रहेको काभ्रेमा १३५ वडा छन् । हप्तौँदेखि चुनावी सरगर्मी बढिरहेको अवस्थामा निर्वाचनको एक दिन अघिसम्म कुनै वडामा भने सभापति सर्वसम्मत हुन सकेको छैन ।

भोली हुने वडा निर्वाचनमा १९ हजार १० सदस्यले मतदान गर्न पाउने नेपाली काँग्रेस जिल्ला समितिले जनाएको छ । वडा निर्वाचनमा वडा सभापतिसहित २२ को वडा कार्यसमिति चयन गर्ने नेपाली काँग्रेसका जिल्ला सचिव दिनेश लामाले बताउनुभयो ।

उहाँले वडा निर्वाचनमा क्रियाशील सदस्य सङ्ख्या अनुपातमा १५ देखि माथि क्षेत्रीय प्रतिनिधि चयनसमेत हुने जानकारी दिनुभयो । पार्टीको निर्वाचन कार्यतालिकाअनुसार यही असोज ५ गते वडा अधिवेशन, ९ गते गाउँ/नगर, १२ गते प्रदेश क्षेत्र, १५ गते प्रतिनिधिसभा क्षेत्र तथा असोज १८ गते जिल्ला अधिवेशनको मिति तय भएको छ ।

काँग्रेसले यसअघि ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । काँग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि प्रारम्भ भएको हो । प्रदेश नं २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलाली गरी १३ जिल्लाको क्रियाशील सदस्यता विवरण प्राप्त भएसँगै समय तोकेर अधिवेशन हुँदै जाने समिति सदस्य एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस