असोज ११, मकवानपुर। बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा आज (सोमबार) हेटौंडामा एक कार्यक्रमका बीच प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले साक्षर प्रदेश घोषणागर्नुभएको हो। प्रदेशको १३ जिल्लाको १५ देखि ६० वर्ष उमेर समूहका साक्षर नागरिकहरुको संख्या औषतमा ९७.३३ प्रतिशत रहेकाले साक्षर प्रदेश घोषणा गरिएको बागमती प्रदेश शिक्षा निर्देशनालय हेटौंडाका निर्देशक चन्द्रप्रसाद लुइटेलले जानकारीदिनुभयो।
युनेस्कोको परिभाषा अनुसार बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको उहाँले बताउनुभयो। १५ देखि ६० वर्ष उमेर समूहका नागरिकको संख्या न्यूनतम ९५ प्रतिशत पुगेपछि कुनैपनि देश, प्रदेश वा स्थानीय तहले साक्षर क्षेत्र घोषणा गर्न सक्ने युनेस्कोको प्रावधान रहेको उहाँले बताउनुभयो। साक्षर प्रदेश घोषणा सन्देश र मार्ग निर्देशन भएकाले यसको निरन्तरता र वृद्धिदर प्रदेश सरकारको चुनौतीको विषय रहेको उहाँले बताउनुभयो।
प्रदेश सरकारले संघीय सरकार र स्थानीय तहहरुसंग समन्वय गरेर साक्षर उमेर समूहका व्यक्तिको निरन्तर सिकाइका कार्यक्रम र सिप विकासमा जोड दिनुपर्ने उहाँले बताउनुभयो। बागमती प्रदेशका १५ वर्ष मुनिका र ६० वर्ष भन्दा माथिकासहित गरेर ४५ हजार ३४५ जना व्यक्तिहरु निरक्षर रहेकाले उनीहरुको लागि पनि तिनै तहका सरकारले क्षमता विकास र सिप सिकाइका योजनाहरु लागु गरी औपचारिक शिक्षामा जोड्नु पर्ने उहाँले भनाइ छ ।
वर्तमान समयमा साक्षरताको परिभाषा विद्यालयको शिक्षामा मात्र सीमित नहुने भएकाले सिप विकास र जीविकोपार्जनको लागि क्षमता विकासमा अबको साक्षरता अभियान केन्द्रीत हुनुपर्ने निर्देशक लुइँटेलले बताए ।
प्रतिक्रिया दिनुहोस