असोज १२, काठमाडौं। बाढीले क्षतिग्रत भएको मेलम्ची खानेपानी आयोजना पुर्नस्थापनाका लागि नयाँ ठेक्का लगाउने तयारी भएको छ।
खानेपानी तथा सरसफाइ मन्त्रालयले विशेष परिस्थिति भनी छोटो प्रक्रियाबाट ठेक्का लगाउन अनुमति माग्दै मन्त्रिपरिषदमा कार्ययोजना प्रस्ताव पठाएको हो।
योसँगै एसियाली विकास बैंक एडीबीले आयोजनाको पुर्नस्थापनाका लागि खर्च नगर्ने पक्का भएको छ । बाढीग्रस्त आयोजनालाई फेरि मर्मत गरेर सञ्चालनयोग्य बनाउन एडीबीले लगानी नगर्ने बताइसकेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बासु पौडेलले बताउनभयो।
एडीबीको ऋण सहयोगमा बनेको आयोजना पूरा नहुँदै बाढीले क्षतिग्रस्त बनाएको थियो। अब सरकारले आफ्नै स्रोत प्रयोग गरेर आयोजना पुर्नस्थापित गर्ने कार्यकारी निर्देशक पौडेलले बताउनुभयो।
मेलम्ची बजारदेखि आयोजनाको मुहानसम्मको २२ किलोमिटर पहुँचमार्गमध्ये क्षतिग्रस्त ८ किलोमिटर सडकमार्गको नयाँ ट्रयाकनै खोल्नुपर्ने छ भने अरु खण्ड स्तरोन्नति गर्नुपर्ने छ।
असार १ गते सुरुङको अवस्था जाँच्न र आवश्यक मर्मत गर्न भन्दै दुई महिने कार्यतालिका सार्वजनिक गरेर मेलम्चीको खानेपानी आयोजनाले सुरुङमा पानी भर्न बन्द गरेको थियो । त्यही दिन राति मेलम्ची नदीमा आएको बाढीले आयोजनाको मुहानको संरचना पुरेको छ भने त्यहाँसम्म पुग्ने सडक पनि बगाएको छ।
प्रतिक्रिया दिनुहोस