पनौती बाँसघारीमा मै मुक्तिनाथ मन्दिर, सर्वसाधरणका लागि खुल्ला

नौलो समाचार संवाददाता
२०७८ आश्विन २५, सोमबार मा प्रकाशित १३७१ पटक पढिएको
पनौती बाँसघारीमा मै मुक्तिनाथ मन्दिर, सर्वसाधरणका लागि खुल्ला

असोज २५,काभ्रे। अब मुक्तिनाथ दर्शन पनौती मै हुने भएको छ। काभ्रेको पनौती नगरपालिका वडा नम्बर-५ बाँसघारीमा स्थानीयहरुको सक्रियतामा मुक्तिनाथ मन्दिर स्थापना भएसँगै दर्शन गर्न टाढा धाईरहनु नपर्ने भएको हो।

आज (सोमबार) एक कार्यक्रमका बीच स्वामी कमलनयनाचार्यले उक्त मन्दिरको समुद्घाटन गर्नुभएको हो। आजैबाट मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएको छ। उक्त मन्दिरको शिलान्यास २०७४ साल असोज ७ गते  भएको थियो ।

मुक्तिनाथ मन्दिर निर्माण समितिका अध्यक्ष गोपालबहादुर थापाले मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यकै निर्देशनबाट काम भएको र मुक्तिनाथकै पुजारीले पुजा अर्चना गर्ने भएकाले ढुक्कसँग पनौतीको मुक्तिनाथ मन्दिरमा आउन भक्तजनलाई अपिल गर्नुभयो।

मन्दिर सहितको संरचना निर्माणका लागि एक करोड ५९ लाख रुपियाँ खर्च लागेको छ। भागवत सप्ताहबाट ५१ लाख, विभिन्न व्यापारी, भक्तजन तथा स्थानीयबाट ६६ लाख, बागमती प्रदेश सरकारबाट २५ लाख र पनौती नगरपालिकाबाट २५ लाख रुपियाँ सहित मुक्तिनाथ मन्दिर निर्माणका लागि एक करोड ६७ लाख रुपियाँ सहयोग उठेको थियो।

प्रतिक्रिया दिनुहोस